ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा प्रदेश गौरवका योजनामा बजेट अभाव, निर्माण सुस्त

शुक्रबार १२, बैशाख २०८२ ०५:२४

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन गरिएका प्रदेश गौरवका सडक योजनामा बजेट अभाव भएको छ । प्रदेश सरकारले प्रदेश गौरवका सडक र अन्य पूर्वाधार विकासका योजनाहरु धमाधम बहुवर्षीय ठेक्का लगाए पनि फिजिविलिटीसमेत अध्ययन नभएका टुक्रे योजनाको संख्या बढी भएकोले ठुला योजनाहरुमा पर्याप्त बजेट विनियोजन हुन नसकेको हो । 

प्रदेश गौरव र बहुवर्षीय योजनाहरुमा पर्याप्त बजेट विनियोजन नहुँदा योजना कार्यान्वयनको अवधिसमेत लम्बिदै गएको छ । अवधि लम्बिदा योजनाको लागतमा समेत भेरियसन समस्या बढ्दै गएको छ ।

बैतडीको प्रदेश गौरवको आयोजना सतबाझ–श्रीभावर सडकअन्तर्गत २०७८/०७९ मा ठेक्का लगाइएको श्रीभावर–हाट खण्ड गतआर्थिक वर्षको मसान्तसम्म सम्पन्न हुनुपर्ने थियो । तर बजेट अभाव र ठेकेदारको ढिलासुस्तीले गर्दा चालुआर्थिक वर्षमा समेत सम्पन्न नहुने भएको छ । साढे पाँच किलोमिटर लम्बाई रहेको सो खण्डमा कालोपत्रे निर्माणका लागि हालसम्म निर्माण कम्पनीले ७० प्रतिशत काम गरेको छ ।

तर, कार्यालयले निर्माण कम्पनी जगदम्बा बिल्डर्स प्रालिलाई ५५.६ प्रतिशत रकम मात्रै भुक्तानी गरेको छ । २० करोड ४२ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म ११ करोड ३५ लाख रुपैयाँ भुक्तानी दिइएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 

सो सडकको श्रीभावर–हाट खण्डमा नै आठ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७६/०७७ मै क्याब ग्वालेक जेभीलाई १३ करोड ७७ लाख ६८ हजार रुपैयाँमा ठेक्का दिइएको थियो । ०८० असार मसान्तभित्रै सम्पन्न हुनुपर्ने ठेक्कामा हालसम्म ८० प्रतिशत काम भएको छ भने सम्झौताको ७७.६ प्रतिशत रकम भुक्तानी गरिएको छ । 

सतबाझ–श्रीभावर सडकको १४ किलोमिटर कालोपत्रे गर्न र २० किलोमिटर स्तरोन्नति गर्न ०७९/०८० मा लगाइएको ठेक्काले पनि गति लिन नसकेको छैन । आउँदो चैतमा ठेक्काको अवधि सकिने कालोपत्रे गर्ने सो ठेक्काको १५ प्रतिशत भौतिक प्रगति छ भने सम्झौता रकम ४८ करोड ८२ लाख ८२ हजारको १२ प्रतिशत भुक्तानी भएको छ । स्तरोन्नति गर्न लगाइएको ठेक्काको अवधि पनि आउँदो पुसमा सकिने भए पनि भौतिक प्रगति ८६ प्रतिशत भएको छ । सम्झौता रकम १४ करोड ७६ लाख सात हजारको ८२ प्रतिशत भुक्तानी भएको छ ।

पूर्वाधार विकास कार्यालय बैतडीले नै दार्चुलाको प्रदेश गौरवको आयोजना देथला–खार–खलंगा सडकअन्तर्गत साढे आठ किलोमिटरको खलंगा–दल्लेक खण्ड र सवा आठ किलोमिटरको देथला–खार खण्ड कालोपत्रे गर्न ठेक्का लगाएको छ । तर बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा २०७५/०७६ मा ठेक्का लगाइएको देथला–खार खण्डको ठेक्का अवधि गत असारमा सकिए पनि हालसम्म ७५ प्रतिशत काम मात्रै भएको छ । २०७८/७९ मा ठेक्का लगाइएको खलंगा–दल्लेक खण्ड थपिएको म्याद समेत सकिएपनि ३५ प्रतिशत काम भएको छ ।

पूर्वाधार विकास कार्यालय बैतडीलाई प्रदेश गौरवको सडकका लागि बैतडीमा ५७ करोड ७५ लाख ७९ हजार र दार्चुलामा २० करोड दुई लाख सात हजार रुपैयाँ बजेट आवश्यक भए पनि चालुआर्थिक वर्षमा बैतडीमा २५ करोड र दार्चुलामा १६ करोड रुपैयाँ मात्रै विनियोजन भएको जनाएको छ । कार्यालयका प्रमुख इञ्जिनियर धिरेन्द्र भट्टले बहुवर्षीय खरिद सम्झौता भएका योजनामा आवश्यक बजेट विनियोजन नहुँदा योजना निर्माणमा ढिलाई भइरहेको बताए ।

डडेल्धुराको प्रदेश गौरवको आयोजना दैजी–जोगबुडा–सलौन–चिरकट्टे–पोखरा–ढुंगाड सडकअन्तर्गत छ वटा ठेक्का लगाइएको छ । भेरियसनसहित एक अर्ब ३२ करोड ३५ लाख ५७ हजार रुपैयाँमा लगाइएका ती ठेक्काहरुमध्ये दुई ठेक्काको म्याद गत चैतमा सकिएको छ । एक ठेक्को म्याद आउँदो असार, दुई ठेक्काको भदौ र एक ठेक्काको म्याद २०८३ असारमा सकिदैछ । ती ठेक्काका लागि चालुआर्थिक वर्षमा २३ करोड विनियोजन भए पनि पाँच करोड ३० लाख १६ हजार रुपैयाँ बजेट कम परेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख इञ्जिनियर नवराज रावलले बताए । 

उनका अनुसार डडेल्धुरा कार्यालयले ठेक्का लगाएका १३ वटा आयोजनामा २२ करोड ६९ लाख ३६ हजार रुपैयाँ अपुग भएको छ । टुक्रे योजनाको संख्या धेरै भएको हुँदा बहुवर्षीय आयोजनाहरुमा बजेटको चरम अभाव रहेको इञ्जिनियर रावलले बताए । उनले बजेट अभावमा संघबाट हस्तान्तरण भएको रुग्ण ठेक्का कार्यान्वयनमा कठिनाई भइरहेको बताए ।

डोटीको प्रदेश गौरवको आयोजना सजपुर–बोेगटान–दीपायल सडकमा समेत बहुवर्षीय ठेक्का लगाइएको छ । ६५ करोड ७८ लाख ३७ हजारमा ०७९/८० मा ठेक्का सम्झौतामा भई थपिएको म्याद ०८३ असारमा सकिदै छ । हालसम्म सो ३५ करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा सो सडकका लागि २१ करोड रुपैयाँ विनियोजन भए पनि १४ करोड ८० लाख ३४ हजार रुपैयाँ खर्च भएको पूर्वाधार कार्यालयले जनाएको छ । सो सडकमा आगामी आर्थिक वर्षमा ठेक्का सम्पन्न गर्न पाँच करोड २८ लाख ९१ हजार रुपैयाँ आवश्यक पर्ने इञ्जिनियर रावलले बताए । उनले पूर्वाधार कार्यालयले सञ्चालन गरेको १३ वटा बहुवर्षीय ठेक्कामा १७ करोड ४० लाख ४५ हजार रुपैयाँ बजेट अभाव भएको बताए ।

यसैगरी, पूर्वाधार विकास कार्यालय अछामले अछाम र बाजुरामा सञ्चालन गरेको प्रदेश गौरवका सडक र अन्य बहुवर्षीय आयोजनाको ठेक्काको म्याद सकिए पनि निर्माण पूरा भएका छैन । ती आयोजनाहरु निर्माणका लागि तीन अर्ब ९५ करोड ९५ लाख १५ हजार रुपैयाँमा १९ वटा ठेक्का सम्झौता भएको थियो । सो ठेक्काबापत दुई अर्ब दुई करोड ४१ लाख ३२ हजार रुपैयाँ भुक्तानी भएको र आगामी आर्थिक वर्षमा एक अर्ब ३६ करोड ९४ लाख सात हजार रुपैयाँ आवश्यक रहेको पूर्वाधार कार्यालय अछामले जनाएको छ ।

बझाङ जिल्लामा प्रदेश गौरवको सडकसहित १६ वटा आयोजनामा बहुवर्षीय ठेक्का लगाइएको छ । ती सबै ठेक्काको म्याद सकिए पनि औसत भौतिक प्रगति ७९.६९ प्रतिशत छ । ती आयोजना सञ्चालन गर्न एक अर्ब ४१ करोड ४३ लाख ३३ हजारमा विभिन्न समयमा सम्झौता भएको थियो । सम्झौताअनुसार एक अर्ब २६ करोड ६५ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । ४० करोड २४ लाख २६ हजार रुपैयाँ बजेट अभाव भएको पूर्वाधार विकास कार्यालय बझाङले जनाएको छ । कार्यालय प्रमुख नृगराम जोशीले साना योजनाहरुमा बजेट विनियोजन हुँदा ठुला योजनामा बजेट अभाव भएको बताए ।

प्रतिक्रिया