ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा होमस्टे महोत्सव आयोजना गरिदै

शुक्रबार १२, बैशाख २०८२ ०६:४६

धनगढी । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रबद्र्धन र थारु होमस्टे भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना गरिदैछ ।

यही बैशाख १८ गतेदेखि २० गतेसम्म धनगढी वडा नम्बर १६ स्थित थारु होमस्टे गाउँ भादामा महोत्सव आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सव सम्बन्धि जानकारी दिन शुक्रबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले प्रदेशमा सञ्चालित होमस्टेहरुको बजारीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको बताए ।

उनले होमस्टे सञ्चालन गरिरहेको समुदायको संस्कार, संस्कृति, खानपान, भेषभुषा, सीपकला, प्राकृतिक सम्पदा, परम्परा झल्किने गरी महोत्सव आयोजना गर्ने बताउँदै महोत्सवमा सुदूरपश्चिम प्रदेशका सबै ३२ वटा होमस्टेको सहभागिता रहने बताए । उनले देशभरका तीन सय जना होमस्टे सञ्चालकहरुलाई समेत आमन्त्रण गरिएको बताए ।

महोत्सवका लागि मन्त्रालयले १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने महोत्सव स्थलमा राखिने स्टलहरुबाट उठेको रकम, केही थप प्रायोजकले दिएको रकमले महोत्सव आयोजना गरिने अध्यक्ष चौधरीले बताए । उनले महोत्सवमा नौ वटै जिल्लाका १३ वटा सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, शुक्लाफाँटा जंगल सफारी, थारु हस्तकला प्रदर्शनी, होमस्टे कार्यशाला, काठेपिङ महोत्सवको मुख्य आकर्षण रहेने बताए । महोत्सवमा स्लो साइकल रेस, घैटोफोर, भलाद्मी दौड, पेनाल्टी सुटआउट जस्ता खेलकुद समेत राखिएको बताए ।

तीन दिनमा एक लाख जनाले महोत्सवमा अवलोकन गर्ने अपेक्षा गरिएको होमस्टे महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । महोत्सवमा आउने आमन्त्रितको लागि बास र खानाको समेत व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए । उनले महोत्सव व्यवस्थापनमा नुक्लीपुर होमस्टे र मजगाउँ होमस्टेले समेत सहकार्य गरिरहेको बताए ।

प्रतिक्रिया