ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीकी बेलमती दुई महिनामै दोस्रोपटक पक्राउ, जरिबानाको पैसा कमाउन फेरि चरेस कारोबारमा

आइतबार १४, बैशाख २०८२ ०२:४०

धनगढी । कैलालीमा लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छिन् । कैलालीको गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीया बेलमती बोहरालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार बेलमतीलाई धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट पक्राउ गरिएको हो । ‘वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई किलो ५८० ग्राम चरेससहित बेलमतीलाई पक्राउ गरेको हो,’ डीएसपी बोहराले भने । 

डीएसपी बोहराका अनुसार बेलमती दुई महिनाअघि ०८१ फागुनको पहिलो साता पनि चरेससहित पक्राउ परेकी थिइन् । बेलमतीलाई प्रहरीले गौरीगंगाको बडैपुरमा सञ्चालन गरेको नास्ता पसलमा खाटमुनी कालो प्लाष्टिकमा लुकाएको अवस्थामा एक किलो ६६५ ग्राम चरेससहित पक्राउ गरेको थियो । 

जिल्ला अदालत कैलालीले उनलाई छ महिना कैदको फैसला सुनाएको थियो । ‘एक वर्षभन्दा कम कैद सजाय भएका दोषीले दिनको तीन सय रुपैयाँका दरले जरिबाना तिरेर कैद भुक्तान गर्ने सुविधा छ,’ अदालतका एक अधिकारीले भने, ‘सोही सुविधा लिएर बेलमती पनि छुटेकी थिइन् ।’

जिल्ला प्रहरी कार्यालयका डीएसपी बोहराका अनुसार फेरि किन चरेसको कारोबारमा लागेको ? भन्दै प्रहरी अधिकारीले बेलमतीलाई प्रश्न गरेका थिए । ‘अदालतमा जरिबाना तिरेको पैसा कमाउनका लागि बझाङबाट चरेस ल्याएर कारोबार गरिरहेको बयान बेलमतीले दिएकी छिन्,’ डीएसपी बोहराले भने । 
 

प्रतिक्रिया