ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा २० ठेक्का अलपत्र, म्याद थपपछि कारबाही प्रक्रिया तुहियो

मङ्गलबार १६, बैशाख २०८२ ०५:१८

धनगढी । कञ्चनपुरमा २० ठेक्का अलपत्र परेका छन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सञ्चालन गरेको २० वटा आयोजनाको ठेक्का अवधि सकिए पनि काम पूरा हुन नसकेको हो । 

ठेक्का लिएर काम नगर्ने ती ठेक्काका निर्माण व्यवसायीहरुलाई कार्यालयले सात दिनको म्याद दिएर स्पष्टीकरण सोधेपछि केही ठेकदारहरु सम्पर्कमा आएका छन् । कार्यालयले कञ्चनपुरको चन्द ग्रुप एण्ड सप्लायर्स, एमडी ग्रुप, शुभम् कन्स्ट्रक्सन, महाकाली कन्स्ट्रक्सन, एसएन निर्माण तथा परामर्श सेवा, नागार्जुन निर्माण सेवा, राधा भानु निर्माण सेवा, मचान बाशुलिंग जेभी, गणपति कन्स्ट्रक्सन र आरपी कन्स्ट्रक्सनलाई काम सुचारु गर्न अन्तिम ताकेता भन्दै गत चैत २५ गते पत्रिकामा सूचना प्रकाशन गरेको थियो ।

कार्यालय प्रमुख योगेन्द्र अधिकारीले एसएनले चार, नागार्जुनले तीन, राधा भानुले दुई, मचान बाशुलिंगले दुई, गणपतिले चार र बाँकी ठेकदारले एक–एक वटा ठेक्का अलपत्र पारेको बताए । उनले नेपाल सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरी बैशाख १५ गते राजपत्रमा प्रकाशित गरेपछि ती ठेकेदारहरुलाई कारबाही गर्न नपर्ने भएको बताए । उनले अन्तिम ताकेता पत्र पठाइसकिएका निर्माण कम्पनीहरुले माग गरेमा म्याद थप गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

कार्यालयका अनुसार १० वटा सडक निर्माणका लागि ७१ करोड ९५ लाख ३२ हजार रुपैयाँको ठेक्का सम्झौता विभिन्न समयमा गरिएकोमा ४६ करोड ९० लाख ३६ हजार रुपैयाँको मात्रै काम भई भुक्तानी भएको छ । 

यसैगरी, १० वटा पुल निर्माणका लागि विभिन्न समयमा ६४ करोड ४० लाख ४५ हजार रुपैयाँको सम्झौता भएकोमा ३५ करोड ९६ लाख ६९ हजार रुपैयाँको मात्रै काम भएको छ ।

प्रतिक्रिया