टीकापुर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलालीको टीकापुर आउने भएका छन् । उनी बैशाख २३ र २४ गते हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न टीकापुर आउने भएका हुन् ।
ओलीले बैशाख २३ गते टीकापुरको भानुचोकमा कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सुकुम्बासी तथा भूमिहीन सम्बन्धी काम गर्दै आएको नेकपा एमालेको जनवर्गीय संगठनको महाधिवेशनका क्रममा प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिजाल, पार्टी सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी समेत कार्यक्रममा सहभागी हुने नेकपा एमाले टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।
उनका अनुसार स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, संगठनका संस्थापक अध्यक्ष रामप्रित पासवान लगायतका नेताहरु समेत महाधिवेशनमा सहभागी हुनेछन् ।
दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरिबाट संगठनका छ सय प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महाधिवेशनको तयारीका लागि तीन दिनदेखि संगठनका अध्यक्ष एवं संविधानसभा सदस्य शान्ता चौधरी समेत टीकापुरमा रहेकी छन् ।
प्रतिक्रिया