धनगढी । बाजुरा सदरमुकामको पालिका हो, बडीमालिका नगरपालिका । सदरमुकामकै पालिका भए पनि त्यहाँका झण्डै ९० प्रतिशत नागरिक कृषि पेशामा आवद्व छन् ।
नगरपालिकाले पनि कृषिबाटै स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवद्र्धन र पहिचान बढाउने गरी कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिए ।
‘हामीले विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गरेका छौं,’ नगर प्रमुख खड्काले भने, ‘यसले स्थानीय स्तरमा उत्पादन हुने फापर, जौ, कोदोलगायतका बालीको प्रवद्र्धन पनि भएको छ ।’
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का
स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने गरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य रैथाने बालीको परिकार खुवाउने नीति कार्यान्वयनमा ल्याएको नगरप्रमुख खड्काले बताए । प्रारम्भिक बालविकासदेखि कक्षा छ सम्म अध्ययन गर्ने बालबालिकाले दिनको एकपटक खाजा सुविधा पाइरहेका छन् ।
बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको छ भने बीचमै विद्यालय छोड्ने दर पनि घटेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा २५ वटा सामुदायिक विद्यालय रहेका छन् ।
मेयर खड्काका अनुसार रैथाने बालीको परिकारलाई विद्यालयमा मात्रै सीमित गरिएको छैन । ‘खाजाको व्यवस्था रहेका सदरमुकाममा हुने हरेक कार्यक्रममा पनि रैथाने बालीकै परिकार खुवाउने गरिएको छ,’ मेयर खड्काले भने, ‘हामीले बडीमालिका नगरपालिकामा खादा पनि विस्थापन गरेका छौं । किसानबाट माला किनेर अतिथिलाई स्वागत गर्ने गरेका छौं ।’
नगरपालिकाले स्थानीय उत्पादनलाई बढावा दिन कृषि हाटबजार पनि सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले जानकारी दिए । ‘हाट बजार पूर्ण रुपमा सञ्चालन भएपछि स्थानीय उत्पादको बजारीकरणमा सहजता हुन्छ,’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत माझीका अनुसार नगरपालिकाले कोदोको बिस्कुट उद्योग स्थापनाको तयारी पनि थालेको छ भने रैथाने बाली प्रवद्र्धनका लागि प्रत्येक वर्ष कोदो दिवस मनाउने गरिएको छ ।
‘हरेक वर्ष कृषि मेला प्रदर्शनी आयोजना र रैथाने बाली परिकार प्रदर्शनी कार्यक्रम पनि नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको छ,’ माझीले भने ।
नगरपालिकाका कृषि शाखाका नायक प्राविधिक सहायक रमेश बिक प्रवद्र्धन, उत्पादन र बजारीकरणमा जोड दिएको बताए । रैथाने बालीमा किसानहरुलाई ढुवानी अनुदान पनि पालिकाबाट प्रदान हुँदै आएको बिकले बताए ।
प्रतिक्रिया