धनगढी । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) का सुदूरपश्चिम अध्यक्ष तीर्थराज पन्तले सुदूरपश्चिम प्रदेशवासीले उपचारका लागि भारतका अस्पताल धाउनुपर्ने बाध्यता घट्दै गएको बताएका छन् । अग्रलेख मल्टिमिडियाले कैलालीको धनगढीमा आयोजना गरेको ‘स्वास्थ्य सेवाको अवस्था : नीति तथा पहुँचको समीक्षा’ विषयक मिडिया संवाद कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले यस्तो बताएका हुन् ।
‘पहिले सामान्य उपचारका लागि पनि सुदूरपश्चिमवासीले भारत धाउनुपर्ने बाध्यता थियो,’ निसर्ग अस्पतालका अध्यक्षसमेत रहेका पन्तले भने, ‘तर, पछिल्लो समय प्रादेशिक अस्पतालको सेवा सुधार भएपछि र निजी अस्पताल खुल्न थालेपछि उपचारका लागि भारत जानुपर्ने बाध्यता घट्दै गएको छ । हामीले ६० प्रतिशत बिरामीलाई प्रदेशमै रोक्न सकेका छौं । अहिले पनि जटील किसिमको उपचारका लागि बिरामी भारतमै जाने गरेका छन् ।’
पन्तले सुदूरपश्चिमका निजी अस्पतालमा मात्रै डेढ सय जना विशेषज्ञ डाक्टर कार्यरत रहेको बताए । नीति निर्माण तहमा भइरहेको कमजोरीले स्वास्थ्य सेवा प्रवाहमा केही समस्या रहेको पन्तले बताए । ‘प्रदेश संरचना बनेको सात वर्षसम्म पनि कतिपय नीति निर्माण भएका छैनन्,’ उनले भने, ‘निजी अस्पतालसंग आवश्यक सबै पूर्वाधार र उपकरण भए पनि सरकारीस्तरबाट स्वीकृति दिनमा कन्जुसाइ भइरहेको हुन्छ ।’ आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको अनुमति माग्दा पनि पाउन मुस्किल रहेको उनले बताए ।
उनले सरकारी स्वास्थ्य सेवा स्तरीय भएपछि निजी अस्पताल बन्द हुन्छन् भन्ने गलत भास्य सृजना गरिएको बताए । ‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने कुराको हामीले पनि स्वागत गरेका छौं, स्वास्थ्य विज्ञान विश्वविद्यालय खुलेपछि निजी अस्पताललाई पनि फाइदा हुन्छ,’ उनले भने, ‘हामीले १५–१५ लाख तलब दिएर विशेषज्ञ डाक्टर ल्याउनुपर्ने बाध्यता छ । विश्वविद्यालय सञ्चालन भएपछि त्यो बाध्यता हट्छ ।’ सुदूरपश्चिमका निजी अस्पतालमा स्थानीय तहको सिफारिसको आधारमा विपन्नका लागि १० प्रतिशत शय्या निशुल्क राखेको पन्तले बताए ।
प्रतिक्रिया