धनगढी । ‘पाँच–सात वर्षअघि सामान्य उपचारका लागि पनि सुदूरपश्चिमवासीले भारत धाउनुपर्ने बाध्यता थियो, पछिल्लो समय भने ६० प्रतिशत बिरामीलाई उपचारका लागि प्रदेशमै रोक्न सकेका छौं,’ अग्रलेख मल्टिमिडियाले कैलालीको धनगढीमा गरेको स्वास्थ्य सेवाको अवस्थाः नीति र पहुँचको समीक्षा विषयक मिडिया संवादमा अफिन सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्तले भने । उनका अनुसार प्रादेशिक अस्पतालको सेवा सुधार गरेपछि र निजी अस्पताल खुल्न थालेपछि सुदूरवासीले उपचारका लागि भारत जानुपर्ने बाध्यता घट्दै गएको हो ।
स्वास्थ्य सेवाको सुधार र सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजित संवादमा सहभागी स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था सुधार हुँदै गएको बताएका हुन् । बरिष्ठ फिजिसियन डा. सुभेषराज कायस्थले साढे तीन दशकअघि आफूले सुदूरपश्चिममा सेवा सुरु गर्दा जम्मा तीन–चार जना डाक्टरले सेवा दिएको स्मरण गर्दै अहिले धनगढीमा मात्रै १५० जनाभन्दा बढी विशेषज्ञले सेवा दिइरहेको बताए । ‘त्यति बेला स्वास्थ्य उपकरणको नाममा एउटा मात्रै एक्सरे मेसिन रहेकोमा अहिले एमाआरआई गर्ने सुविधा धनगढीमै उपलब्ध छ,’ उनले भने ।
सुदूरपश्चिमको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले सबै नागरिकलाई समान स्वास्थ्य सेवा पु¥याउने राज्यको लक्ष्यअनुसार स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकार लागिपरेको बताए । उनले बजेटले भ्याएसम्मको स्वास्थ्य सेवा थप गर्ने, विशेषज्ञ जनशक्ति वृद्धि गर्ने र निजी अस्पतालको सेवा नियमन गर्नका लागि निर्देशनालयले काम गरिरहेको बताए ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टले अस्पतालमा आउने बिरामीको चापलाई धान्नको लागि अस्पतालको आन्तरिक स्रोतबाट सेवा थप गरी सञ्चालन गरिरहेको बताए । उनले सेती प्रादेशिक अस्पतालले ५० शय्याको मात्रै सरकारबाट अनुमति पाएको बताउँदैसरकारले सेती प्रादेशिक अस्पतालको शय्या बढाउने र सोही अनुसारको जनशक्ति उपलब्ध गराउन संगठन सर्वेक्षण गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतित्थ्यमा भएको संवाद्मा प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, पूर्वमन्त्री लक्ष्मी विकले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका बरिष्ठ शिक्षा स्वास्थ्य अधिकृत हेमराज खड्का, प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत महेशप्रसाद बोहरा र निजी अस्पालको तर्फबाट रोहित गिरीले प्रस्तुति गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरिरहेका छौँ : मन्त्री खड्का
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको बताए । विगतको तुलनामा सुदूरपश्चिमको स्वास्थ्य उपचारको क्षेत्रमा केही सुधार पनि भएको उनको भनाई थियो ।
‘बजेटको सीमितताका बीच स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयत्न गरिरहेका छौँ, दुर्गममा कसरी चिकित्सक पु¥याउने भनेर लागिपरेका छौँ,’ उनले भने, ‘केही सुधार भएको पनि छ । उपचारका लागि भारतको पलिया, लखनउको निर्भरता घटेको छ ।’ उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था घट्नुमा निजी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
मन्त्री खड्काले प्रोत्साहन भत्ता दिएर भए पनि डाक्टरलाई पठाएर दुर्गमको स्वास्थ्य उपचार सेवा सुधार गर्न खोजिएको बताए । उनले प्रदेशको आन्तरिक आय बढ्न नसकेको र केन्द्रबाट पाउने रकम पनि घट्दै गएकाले स्वास्थ्य क्षेत्रमा चाहेअनुसार काम गर्न नसकेको धारणा राखे । अकालमा मृत्यु हुने संख्यामध्ये करिब ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेकाले यसमा संवेदनशील भएर सरकारले स्वास्थ्य सचेतनासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिने उनले बताए ।
स्वास्थ्य क्षेत्रलाई विकासको मुख्य क्षेत्र बनाइनुपर्छ : पूर्वमन्त्री बिक
कार्यक्रममा पूर्वमन्त्री एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मी बिकले भौतिक पूर्वाधारमात्र विकास नभएको बताइन् । उनले स्वास्थ्य क्षेत्रलाई पनि विकासको मुख्य क्षेत्र बनाइनुपर्ने बताइन् ।
‘भौतिक संरचनामात्र विकास हो की स्वास्थ्य पनि विकास हो ?’ उनले भनिन्, ‘स्वास्थ्यलाई ब्रेकआउट गरेर भौतिक पूर्वाधारमात्र विकास हो भन्ने मानसिकता प्रदेश सरकार र नीति निर्माणमा रहेकाहरुको देखिन्छ ।’ उनले जीवनसँग जोडिएको स्वास्थ्यलाई विकासको मुख्य विषय बनाइनु पर्ने धारणा राखिन् ।
सरकारी स्वास्थ्य सेवाको गुणस्तर बढाउनुपर्छ : सभापति पाठक
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सरकारी स्वास्थ्य सेवाको गुणस्तर बढाउनु पर्ने बताए । उनले सरकारी अस्पतालको सेवाको गुणस्तर बढाउँदै लैजाने र निजि अस्पतालको नियमन गर्ने कुरा सँगसँगै लगे जनताले स्तरीय सेवा पाउने बताए ।
‘हामीले सरकारी सेवाको गुणस्तर बढाउँदै जाने हो । निजि क्षेत्रका अस्पताललाई नियमन गर्दै जाने हो’ पाठकले भने, ‘त्यो दुवै कुराको सन्तुलन भयो भने जनताले बल्ल सेवासुविधा पाउँछन् ।’ स्वास्थ्य क्षेत्रमा केही बेथितिहरु भए पनि केही कामहरु पनि भएका उनको भनाइ थियो ।
प्रतिक्रिया