ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनसान बसपार्क, अलपत्र यात्रु

मङ्गलबार २०, जेठ २०८२ १२:०४

धनगढी । सार्वजनिक यातायात ठप्प पारेर यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि यात्रु अलपत्र परेका छन् । आ-आफ्नो गन्तव्यसम्म जान नपाउँदा यात्रुहरु तीन दिनदेखि अलपत्र परेका हुन् ।

खासगरि सुदूर पहाडका विभिन्न जिल्लामा जाने यात्रुहरु मारमा छन् । सार्वजनिक यातायाका साधनहरु सञ्चालन नभएकाले तराइँमै पनि विभिन्न गन्तव्यमा जाने यात्रुहरुको अवस्था पनि उस्तै छ । 

भारतको रत्नागिरीबाट घर आउँदै गरेका टीकापुरका प्रेमलाल चौधरीसहित १० जनाको समूह यातायातका साधन नापाएर सोमबारदेखि धनगढी बसपार्कमा अलपत्र छ । ‘यहाँ बस बन्द रहेछन्, जीप खोजेर भए पनि जाउँ की भनेको एक हजार भाडा लाग्छ भन्छन्, यहाँ खान बस्नको खर्च त छुुट्टै छ अझ,’ उनले भने ‘अरू बेला त तीन सय रुपैयाँमा टीकापुर पुग्ने थियौं ।’

सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, अछाम, बझाङ र बाजुरा जाने सयौं यात्रुहरु पनि धनगढी बसपार्कमा अलपत्र अवस्थामा छन् । कतिपयले आफूहरु बेखर्ची भएर संकटमा पर्न थालेको बताएका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले पनि यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा छन् । 

यद्यपी सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति भएको बताइएको छ । सोमबार राति अबेरसम्म चलेको बैठकमा सरकार र यातायात व्यवसायीबीच प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गरेर समस्या समाधान गर्ने सहमति भएको थियो । 

यातायात व्यवसायीहरुले भने गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्ने अडान लिएका छन् । नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले आज पनि सबै सार्वजनिक यातायात बन्द रहेको जानकारी दिए ।

प्रतिक्रिया