धनगढी । विद्यार्थीलाई दिवा खाजाका रुपमा पत्रु खाना (जंक फुड) को प्रयोग गर्न पाइदैन । जंक फुडले विद्यार्थीको स्वास्थ्यमा नराकात्मक असर पर्ने भएकाले यसको प्रयोग गर्न नपाइने व्यवस्था गरिएको हो ।
कतिपय विद्यालयमा विद्यार्थीलाई दिवा खाजामा चाउचाउ, चाउमिनजस्ता जंकफुड दिने गरिएको पाइन्छ । जंक फुडको प्रयोग अझै रोकिएको छैन । कतिपय विद्यालयले भने जंक फुडको साटो स्थानीय उत्पादनलाई दिवा खाजाको रुपमा प्रयोग गरिरहेका छन् ।कतिपय स्थानीय तहले पनि दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।
अछाम जिल्लाको मंगलसैन नगरपालिकाको पहलमा नगरपालिकाभित्रका विद्यालयहरुमा गाउँमा उत्पादन हुने अन्न, गेडागुडी र तरकारीलाई दिवा खाजाको प्रयोग गर्न थालिएको छ । यसले स्थानीय उत्पादनले बजार पाउनुका साथै विद्यार्थीले पनि स्वस्थकर खानेकुरा खान पाएका छन् ।
विद्यार्थीलाई दिवा खाजामा अन्न, गेडागुडी तरकारी आदि दिने गरिएको छ । जुन खाद्यान्नहरु स्थानीय स्तरमै उत्पादन हुन्छन् । मंगलसेन नगरपालिकाभित्रका ४१ वटा विद्यालय र ६१ वटा बालविकास केन्द्रमा दिवा खाजा कार्यक्रम लागु भएको छ । दिवा खाजा कार्यक्रमका लागि नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले नगरपालिकाले विद्यालय र बालविकास केन्द्रलाई भुक्तानी दिने गरेको हो ।
विद्यालय र बालविकास केन्द्रमा प्रयोग हुने दिवा खाजाका रुपमा अन्न र तरकारीको आपूर्तिको जिम्मा स्थानीय सात छ वटा सहकारीलाई दिइएको छ ।
नगर प्रमुख पदमबहादुर बोहराले विद्यालयमा दिवा खाजाका रुपमा प्रयोग हुने अन्नको नगरपालिकाले ‘मेनु’ बनाएको जानकारी दिए । उनले विद्यार्थीलाई ताजा र अग्र्यानिक खाद्यान्न खान पाउन भनेर गत वर्षबाट दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य गरिएको बताए ।
नगरपालिकाका अनुसार दिवा खाजाका रुपमा दाल, भात, कोदाको पुवा, सागपात, भटमासलगायत गेडागुडी खुवाउने गरिएको छ । ‘कृषिमा पनि टेवा पुग्ने र विद्यार्थीले पनि ताजा र अग्र्यानिक खाद्यान्न पाउने भएकाले स्थानीय उत्पादनलाई अनिवार्य गरेका हौँ, नगरपालिकाले बनाएको मेनुअनुसार विद्यालयले खाजा दिए÷दिएनन् भनेर अनुगमन पनि हुन्छ’ उनले भने, ‘स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न खोजेका हौँ ।’
दिवा खाजामा स्थानीय उत्पादन अनिवार्य गरेपछि किसानले उत्पादन गरेका बस्तुहरुले बजार पाउन थालेको छ । यसले थोरै भए पनि किसानको आयस्रोत वृद्धि गर्न मद्दत पुगेको नगरपालिकाको भनाइ छ ।
प्रतिक्रिया