ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारले बाजुराका आगलागी पीडितलाई ४० लाख सहयोग गर्ने

आइतबार २५, जेठ २०८२ १०:५९

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख आर्थिक सहयोग गर्ने भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए ।

उनले आगलागीको विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्ने बताए । उनले प्रदेश सरकारले बढीगंगा नगरपालिकालाई सो रकम उपलब्ध गराउने र नगरपालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने छ । प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

जेठ २३ गते बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएकाे थियाे ।

आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएका थिए भने सात पसलमा आंशिक क्षति भएको थियो । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा  बढी क्षति भएको बताइएको छ ।

राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।

प्रतिक्रिया