धनगढी । कैलालीमा यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको छ ।
मनसुनी वर्षाको सम्भावना बढी भएपछि पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ । धनगढीमा आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका हुन् । सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरुको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय साहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यसवर्ष बढी डुबान हुनसक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताए ।
कैलालीमा बाढीको अवस्थाबारे सरोकारवालासहित समुदायमा जानकारी दिनका लागि १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ । टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।
प्रदेश सरकार पनि मनसुन विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह बिष्टले बताए ।
प्रतिक्रिया