धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट सार्वजनिक ग¥यो । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
मन्त्री थापाले अगामी वर्षका लागि चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५) बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु वर्षको भन्दा झण्डै दुई अर्ब बढीको बजेट प्रदेश सरकारले सार्वजनिक गरेको छ । तर, उक्त रकम कहाँबाट आउँछ भन्ने जिज्ञासा भने बढेको छ ।
बजेटमै प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतपनि उल्लेख गरेको छ । जसमा आन्तरिक राजस्व परिचालनबाट एक अर्व ६५ करोड मात्रै संकलन हुने प्रदेश सरकारको अनुमान छ ।
यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट नौ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट आठ करोड, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ९२ करोड ५६ लाख, आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख प्राप्त हुने अनुमान प्रदेश सरकारको छ । तर, यो सबै रकम अनुमानित हो ।
३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट ल्याएको प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख स्रोत संकलन हुने अनुमान गरेको छ ।
यसअघि चालु वर्षबाट चार अर्ब बचत हुने अनुमान गर्दै बजेट निर्माणलाई अगाडि बढाएको प्रदेश सरकारले अन्तिम समयमा बचत अनुमान सात अर्ब ६६ करोड पुगाएको छ । जसका कारण बजेटको आकार पनि बढेर झण्डै साढे ३३ अर्ब पुगेको हो । चालु वर्षको बजेट ल्याउँदा बचत अनुमान छ अर्ब १५ करोड ८३ लाख ५८ हजार थियो ।
प्रतिक्रिया