धनगढी । कैलालीको कैलारी गाउँपालिका हसुलियाका निर्मल चौधरी सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) नवीकरणका लागि बुधबार यातायात व्यवस्था कार्यालय कैलाली पुगे । कार्यालयमा सेवाग्राहीको भीड थियो । ब्लु बुक नवीकरणका लागि पटकपटक लाइनमा लाग्नुपर्ने बाध्यता देखेपछि उनको नजर कार्यालयबाहिर रहेका खोकाछाप्रामा प¥यो ।
‘तपाईँको ब्लु बुक म नवीकरण गरिदिन्छु भन्दै एक व्यक्ति मेरो नजिक आए,’ चौधरीले भने, ‘साँझ ब्लु बुक फिर्ता गर्ने शर्तमा पाँच सय रुपैयाँ मागेर गएका छन् ।’ सेवाग्राहीले आफैँ नवीकरण गर्दा ठाउँठाउँमा लाइन लाग्नुपर्ने झन्झट हुन्छ । तर यातायात व्यवस्था कार्यालयबाहिर रहेका ड्राइभिङ सेन्टर, फोटोकपी र अनलाइन सेन्टरले भने कमिसन लिएर छिट्टै काम गरिदिने गरेका छन् ।
‘उनीहरुले यातायातका कर्मचारीलाई पनि कमिसन दिने भएर होला कार्यालय प्रवेशमा कुनै रोकतोक हुँदैन,’ चौधरीले भने, ‘ड्राइभिङ सेन्टर सञ्चालकले यातायातका कर्मचारीलाई काम गरेबापत रकम दिने गरेकाले उनीहरुको काम छिटो हुन्छ, हामी आफैले गर्दा दिनभर लाइनमै बस्दा पनि काम हुन मुस्किल हुन्छ ।’
सवारी जाँचपास र प्रदुषण परीक्षणका लागि सवारी साधननै यातायात कार्यालयमा लैजानुपर्ने हुन्छ । तर यातायात व्यवस्था कार्यालय कैलालीमा भने सवारी साधन परीक्षण नगरी मेकानिकल इन्जिनियरले जाँचपास गर्दै आएको पनि आरोप लाग्ने गरेको छ ।
‘सवारी साधननै कार्यालयमा ल्याएर परीक्षण गराउँदा विभिन्न बहाना बनाउने गरिएको छ,’ यातायात व्यवस्था कार्यालयमै भेटिएका सवारी धनी मकर खड्काले भने, ‘केही रकम बुझाएपछि भने विनाझण्झट जाँचपास हुन्छ ।’
विगतमा सबैभन्दा बढी कमिसन लिने/दिने काम सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि हुने गरेको थियो । निश्चित रकम दिए घरमै लाइसेन्स पुग्थ्यो । तर, अहिले लाइसेन्समा हुने बद्मासी भने घटेको सेवाग्राहीले बताएका छन् ।
त्यस्तै विगतमा निरोगिताको प्रमाणपत्र बिक्रीनै हुने गरेकोमा अहिले आँखा जाँच गरेर दिने गरिएको सेवाग्राहीले बताएका छन् । ७५ रुपैयाँमा सेवाग्राहीले निरोगिताको प्रमाणपत्र पाउने गरेका छन् ।
अस्तव्यस्त सेवा
सेवाग्राहीको सबैभन्दा बढी भीड हुने कार्यालयमा पर्छ यातायात व्यवस्था कार्यालय । डोटी र डडेल्धुरामा सेवा विस्तार भए पनि धनगढीस्थित कार्यालयमा भीड घटेको छैन । सवारी साधन दर्ता, नवीकरण, नामसारी, जाँचपास, लाइसेन्स बनाउन र नवीकरण गर्न कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गर्छ ।
सेवा लिन दिनभर लाग्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । ‘सबैभन्दा बढी समस्या बैंकमा छ,’ कार्यालयमै भेटिएका सेवाग्राही निमबहादुर कार्कीले भने, ‘तीन घण्टासम्म लाइनमा बसेको थिएँ । पालो आउने समयममा सर्भर डाउन भयो भनियो । अहिलेसम्म काम भएको छैन ।’ यातायात व्यवस्था कार्यालय कैलालीमा नेपाल इन्भेष्टमेन्ट बैंकको काउन्टर छ । दैनिक सयौँ सेवाग्राही हुने त्यहाँ दुई जना कर्मचारीमात्रै कार्यरत छन् ।
बायोमेट्रिक विवरणका लागि पनि निकै सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो थियो । बायोमेट्रिकका लागि तीन घण्टा कुर्दा पनि पालो नआएको गौरीगंगाका राकेश जोशीले गुनासो गरे ।
यातायात व्यवस्था कार्यालय कैलालीका निमित्त प्रमुख विनोदकुमार माली लाइसेन्सका लागि छुट्टै कार्यालय नहुँदासम्म सास्ती नघट्ने बताउँछन् । ‘सेवालाई सहज बनाउनका लागि नयाँ भवनमा लाइसेन्सको मात्रै काम गर्ने हाम्रो तयारी हो,’ उनले भने, ‘तर, काम सम्पन्न भए पनि निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै भवन हस्तान्तरण गरेको छैन । पूर्वाधार अभावले सेवालाई चुस्त बनाउन अहसज भएको छ ।’
उनका अनुसार प्रत्येक शनिबार लाइसेन्सका लागि लिखित परीक्षा सञ्चालन गर्ने गरिएको छ । प्रयोगात्मक परीक्षा भने दैनिक रुपमा हुँदै आएको छ ।
लाइसेन्स छपाइ बन्द हुँदा झन समस्या
संघीय सरकारले गर्ने विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द छ । जसका कारण यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्रका लागि योग्य भएकाहरुको लाइसेन्स छपाइ हुन सकेको छैन ।
यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख मालीका अनुसार डिसेम्बर २०२३ देखि लाइसेन्स आएको छैन ।
सवारी चालक अनुपति पत्रको परीक्षा लिने, सवारी साधनबाट कर उठाउनेजस्ता यातायातसंवद्ध अधिकार प्रदेश सरकारसँग छ । तर, लाइसेन्स छपाइको अधिकार नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको निमित्त प्रमुख मालीले स्वीकार गरे ।
प्रतिक्रिया