टीकापुर । दुई दशकअघि कैलालीको मुनुवाका किसान घरमै भकारीमा भण्डारण गरेको बीउ प्रयोग गर्थे । कुनैकुनै किसानले मात्रै बाहिरबाट किनेर ल्याएको बीउ प्रयोग गर्ने गरेको पाइन्थ्यो । बाहिरबाट बीउ किनेर ल्याउने कुरा किसानका लागि त्यत्ति सहज पनि थिएन ।
तर, अहिले तिनै जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवाका किसानले उत्पादन गरेको बीउ देशका दर्जन बढी जिल्लाका किसानले प्रयोग गर्छन् । उनीहरुले उत्पादन गरेको बीउ मुनुवास्थित बिजवृद्धी कृषक सहकारी संस्थाले खरिद गरेर दर्जन बढी जिल्लाका किसानसम्म पुर्याउने काम गर्छ ।
सहकारीले किसानले उत्पादन गरेको बीउ खरिद गरेर बाह्य जिल्लामा बिक्री गर्ने मात्रै होइन किसानलाई सहयोग समेत गर्छ । सहकारीको सहयोगमा किसानले बीउ उत्पादन गर्छन । यसको सुरुवात ०६२ सालदेखि भएको सहकारीका व्यवस्थापक गोविन्द रावतले जानकारी दिए ।
उनका अनुसार सहकारीकै सहयोगमा किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मास लगायतका बालीको बीउ उत्पादन गर्छन् । यो बीउ कैलालीसंगै बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहा लगायतका किसानले प्रयोग गर्छन् ।
मुनुवाका किसानले उत्पादन गरेको बीउको बजार र यसको गुणस्तरीयताका बारेमा कुनै समस्या नरहेको व्यवस्थापक रावत बताउँछन । ‘जतिधेरै उत्पादन गरे पनि बजारको कुनै समस्या छैन,’ उनले भने, ‘हाम्रो उत्पादनप्रति अहिलेसम्म कसैले गुनासो पनि गरेका छैनन् ।’
सहकारीले बर्सेनि तीन सय मेट्रिकटन धान र गहुँको बीउ बिक्री गर्छ । सहकारीसँग ४०८ मेट्रिकटन भण्डारण क्षमताका गोदाम छ । यो यहाँको सबैभन्दा पूरानो र ठुलो बीउ उत्पादन गर्दै आएको सहकारी संस्था हो ।
टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीस्थित उज्यालो बहुउदेश्यीय सहकारी संस्थाले समेत बीउ उत्पादन गर्दै आएको छ । उसले धान, गहुँ र तोरीको बीउ उत्पादन गर्छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले वार्षिक तीन सय टन बीउ उत्पादन गरेर बेच्दै आएको जानकारी दिए ।
उनका अनुसार सहकारीले शेयर सदस्यलाई बीउमा अनुदान दिने गरेको छ । ‘किसानलाई बीउमा ५० प्रतिशत अनुदान दिन्छौं,’ उनले भने, ‘हाम्रो नारा नै छ, जमिनको किसानको ः सहयोग सहकारीको ।’ २१ जनाले सुरु गरेको सहकारीमा हाल एक हजार ५८ जना शेयर सदस्य छन् ।
२०६३ सालमा बचत संकलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले ०७२ सालदेखी बीउ उत्पादन सुरु गरेको हो । रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गरेपछि सहकारीले बीउ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
आयोजनाले ठुला मात्रै होइन साना सहकारी र केही निजी कम्पनीलाई समेत बीउ उत्पादनमा सहयोग गर्दै आएको छ । आयोजनाको सहयोगपछि धेरै साना सहकारी र निजी कम्पनी बीउ उत्पादनमा सक्रियय छन् ।
जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीस्थित आधुनिक कृषि सहकारी संस्थाले ०६८ सालबाटै बीउ उत्पादन सुरु गरेको हो । कैलाली र बर्दिया जिल्लालाई बजार क्षेत्र बनाएको सहकारीले बर्सेनि ५० मेट्रिकटन बीउ उत्पादन गर्दै आएको व्यवस्थापक इन्द्राकुमारी डाँगीले जानकारी दिइन् । उनले सहकारीले धान र गहुँको बीउ उत्पादन गर्दै आएको बताइन् ।
‘हामीसँग तत्काल भण्डारण क्षमता पनि छैन,’ उनले भनिन्, ‘जति उत्पादन हुन्छ त्यति दुई जिल्लाका एग्रोभेटलाई बेच्न ठिक्क हुन्छ ।’ टीकापुर नगरपालिका वडा नम्बर ८ बटनपुरस्थित धनसिँहपुर कृषि सहकारी संस्थाले धान र गहुँको बीउमा मात्रै जोड दिएको छ । सहकारीका व्यवस्थापक मुना घर्तीमगरका अनुसार ८० टन गहुँ र ६० टन धानको बीउ बर्सेनि बिक्री हुँदै आएको छ । सहकारीको बजार कैलाली, बर्दिया, कञ्चनपुर, बाँके, सुर्खेत लगायतका जिल्ला हुन् । ०७३ सालदेखि बीउ उत्पादन सुरु गरेको सहकारीमा हाल ३४४ जना शेयर सदस्य छन ।
सहकारी मात्रै होइन निजी कम्पनीले समेत बीउ उत्पादन गर्दै आएका छन् । किसानसँगको साझेदारीमा निजी कम्पनीहरुले बीउ उत्पादन गर्ने गरेका छन् । टीकापुर नगरपालिकाभित्र रहेका किसान बहुउद्देश्यीय प्रालि, क्रियटिभ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी रिसर्च प्रालि, टोप एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी रिसर्च प्रालि, लोक सरस्वती कृषि एग्रोभेट फार्म प्रालि र ज्ञान सिड कम्पनी प्रालिले बीउ उत्पादन गर्ने गरेका छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ६ ओखरपुरस्थित टोप एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी रिसर्च प्रालिका व्यवस्थापक हिरण्ड गिरीले वार्षिक डेढ सय टन जति धान र गहुँको बीउ बेच्दै आएको बताए । उनले किसानले उत्पादन गरेको बीउ कम्पनीले खरिद गरेर बिक्री गर्ने गरेको जानकारी दिए । ‘किसानले उत्पादन गर्छन । हामी खरिद गरेर अन्यत्र बेच्छौ,’ उनले भने, ‘यसका अलावा हामी किसानलाई सहजिकरण पनि गर्छौ ।’
२०७५ सालदेखी बीउ उत्पादनमा सकृय कम्पनीले किसानलाई अनुदान, प्राविधिक, कृषि औजार लगायतका कुरामा सहयोग गर्दै आएको छ । व्यवस्थापक गिरीले कैलाली, कञ्चनपुर, बर्दिया र अछाम जिल्लामा बीउ बिक्री गर्ने गरेको बताए ।
अन्य निजी कम्पनीहरुले समेत यसैगरी किसानलाई सहयोग गरेर बीउ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन ।
कृषि कार्यक्रम कार्यान्वयन एकाई प्रमुख भरतप्रसाद कँडेलले सहकारी र निजी कम्पनी गरी १५ वटाले बीउ उत्पादन गर्दै आएको जानकारी दिए । उनले कैलालीको पूर्वी क्षेत्र बीउ उत्पादनका लागि चिनिन थालेको बताए । ‘बीउ उत्पादनमा राम्रो प्रगति भएको छ’ उनले भने–‘यसमा आयोजनाको ठूलो भूमिका रहेको छ ।’
उत्पादनमा वृद्धि
स्थानीयस्तरमा उत्पादन भएको बीउ प्रयोग गर्न थालेपछि उत्पादनमा समेत वृद्धि भएको छ । परम्परागत बीउभन्दा अहिले उत्पादनमा दोब्बर वृद्धि भएको जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवाका किसान रामफल बडायकले बताए । ‘विगतमा एक विगाहमा २० क्विन्टल धान उत्पादन हुन्थ्यो,’ उनले भने, ‘अहिले ४० क्विन्टल हुन्छ ।’ उनी दुई विगाहमा बीउ उत्पादन गर्छन् ।
अर्का किसान विजयकुमार कठरियाले समेत उत्पादनमा वृद्धि भएको बताए । उनी पाँच विगाहमा बीउ उत्पादन गर्छन् । ‘अढाई विगाह आफ्नै हो । थप अढाई विगाह अर्काको जग्गा भाडामा लगेको छुँ,’ उनले भने, ‘विगतको तुलनामा उत्पादन बढेको छ ।’
उत्पादनमा वृद्धि भएपछि यहाँ उत्पादित बीउ किसानको रोजाइमा पर्न थालेको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाई प्रमुख कँडेलले आयोजनाले बीउ उत्पादनमा जोड दिनुको उद्देश्य कृषि क्षेत्रको उत्पादनमा वृद्धि होस् भन्ने रहेको बताए । उनले पछिल्लो समय कुल गार्हस्थ्य उत्पादनमा आयोजनाको कमाण्ड क्षेत्रले महत्वपूर्ण स्थान ओगट्दै गएको दाबी गरे ।
प्रतिक्रिया