धनगढी । सोमबार डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले पक्राउ ग¥यो । सात लाख ३१ हजार घुस रकमसहित अख्तियार कञ्चनपुरको टोलीले वन अधिकृत यादवलाई पक्राउ गरेको थियो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवले चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरको टोली खटिएको थियो । ‘टोलीले वरिष्ठ वन अधिकृत यादवलाई सेवाग्राहीबाट सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा डिभिजन वन कार्यालय धनगढीबाट नियमन्त्रणमा लिएको हो,’ प्रवक्ता पौडेलले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका निमिक्त प्रमुख शम्भु रेग्मीले सम्पूर्ण विवरणसहित पक्राउ परेका यादवलाई अख्तियारको केन्द्रीय कार्यालयलाई बुझाएको जानकारी दिए । ‘हामीले यादवलाई सम्पूर्ण कागजातसहित मंगलबार नै अख्तियारको केन्द्रीय कार्यालयलाई बुझाएका छौं,’ रेग्मीले भने, ‘केन्द्रले नै अनुसन्धान अगाडि बढाएको छ । विस्तृत अनुसन्धान आवश्यक गर्ने/नगर्ने विषय पनि केन्द्रले नै निर्णय गर्छ ।’ यादवमाथि विगतदेखि नै सामुदायिक वनबाट रकम संकलन गर्दै आएको आरोप लाग्ने गरेको थियो ।
शक्तिकेन्द्र रिझाउन माहिर थिए वन अधिकृत यादव
शक्ति केन्द्रलाई रिझाएर डिभिजन वन धनगढीमा रजगज गरिरहेका कर्मचारी हुन् वरिष्ठ वन अधिृकत पूर्णशंकर यादव । उनी मन्त्रालयका सचिवलाई पनि आफ्नो प्रभावमा पार्नसक्ने हैसियत राख्थे । कर्मचारी सरुवा मापदण्डअनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भदौ महिनाभित्र कर्मचारी सरुवा गरिसक्नु पर्ने थियो ।
मन्त्रालयका कर्मचारी सरुवाको निर्णय हुनुअघि तत्कालीन सचिव वेदप्रकाद ढकालको सरुवा भयो । संघले उनको ठाउँमा जीवनाथ पौडेललाई पठायो । ‘तर पूर्णशंकरसहितका केही कर्मचारीले राजनीतिक पहुँचका आधारमा सरुवा अवधिभर नयाँ सचिवलाई सुदूरपश्चिम आउन दिएनन्, काठमाडौँमै रोकिदिए,’ मन्त्रालयका एक कर्मचारीले भन्छन्, ‘किनकी सरुवा हुने सूचीमा यादवको पनि नाम थियो ।’
यादव बीचका एक वर्षबाहेक करिब १२ वर्षदेखि यहीँ थिए । बीचमा बाजुरा सरुवा भए पनि अधिकांश समय उनी त्यहाँ गएनन् । उनी एक वर्षमै पुनः धनगढी सरुवा गराएर आउन सफल भएका थिए ।
‘काँग्रेस निकट भए पनि यहाँका अन्य पार्टीका नेताहरुलाई पनि प्रभावमा राख्नसक्ने क्षमता यादवसँग छ,’ वन कार्यालयका एक कर्मचारीले भन्छन्, ‘माओवादीका नेता मन्त्री हुँदा उनलाई सरुवा नगर्न माओवादीकै प्रभावशाली नेताहरु समेत परिचालित भएका थिए ।’ यादव वनका सिनियर कर्मचारीलाई समेत आफूअनुकुल सरुवा गर्नसक्ने हैसियत राख्छन् ।
प्रतिक्रिया