ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कलिलैमा अस्ताए सुदूरपश्चिममा गोल्डकप भित्र्याउने सुरेश हमाल

बुधबार १४, साउन २०८२ ०४:५७

धनगढी । खेलकर्मी सुरेश हमालको निधन भएको छ । कैलालीको भजनी नगरपालिकाका ४८ वर्षीय हमालको भारतको राममुर्ती मेडिकल कलेज भोजिपुरामा बुधबार निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेकोमा बुधबार उपचारका क्रममा हमालको निधन भएको हो । 

हमाल सुदूरपश्चिम प्रदेशमा फुटबल गोल्डकपका सुरुवातकर्ता हुन् । सुदूरपश्चिममै पहिलोपटक उनी अध्यक्ष रहेको सुदूरपश्चिम ११ स्पोट्स क्लबले कैलालीको धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गरेको थियो । उक्त प्रतियोगिताका छ वटा संस्करण आयोजना भइसकेको छ । 

०७३ सालअघि नेपालको सुदूर पुर्वी जिल्ला इलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा बर्सेनि गोल्डकप फुटबलहरु सञ्चालन हुँदै आइरहेको थियो । तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन ।

०७३ सालमा पहिलोपटक हमालकै अगुवाइमा धनगढीमा गोल्डकप आयोजना भएको थियो । मनाङ मस्र्याङ्दी क्लबले पहिलो संकरणको उपाधिमा कब्जा जमाएको थियो ।  सो सस्ंकरणमा नेपालका १० र भारतका २ गरी १२  टोलीले प्रतिस्पर्धा गरेका थिए । 

हमालले आफ्नो पारिवारिक जिम्मेवारीलाई पछाडि राखेर खेलकुदमा लगानी गर्दै आएक थिए । उनले सुदूरपश्चिम ११ स्पोट्र्स क्लब मार्फत खेलाडीहरूलाई अवसर दिएका थिए । खेलाडीलाई वर्षैभरि आफ्नै घरमा राखेर खाने, बस्ने र व्यावसायिक तालिमको पूर्ण व्यवस्था मिलाउने काम हमालले गर्दै आएका थिए । 

सुरेश सानो उमेरदेखि नै फुटबलका पारखी थिए । तर, परिवारको सल्लाहमा उनी मार्सल आर्टस्को प्रशिक्षण लिएका थिए । उनले थुप्रै राष्ट्रियस्तरका तेक्वान्दोका प्रतियोगितामा पनि आफ्नो कौशल देखाइसकेका थिए । सोही क्रममा उनले राखेपबाट ०५३ सालमा तेक्वान्दो प्रशिक्षकका रुपमा स्थायी नियुक्ति पाएका थिए । दुई वर्ष तेक्वान्दो प्रशिक्षण गराएपछि सरुवा घरबाट टाढा हुने भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए । 

तेक्वान्दो प्रशिक्षकबाट राजीनामा दिएपछि उनले आफ्नो गाउँ भजनीमा हिमालय फुटबल  क्लबको स्थापना गरेका थिए । कैलालीका गाउँबाट गाउँबाट खेलाडी जुटाएर उनले हिमालयको टिम पनि बनाए भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरेका थिए । 

हमालको निधनले सुदूरपश्चिमको खेल क्षेत्रमा ठुलो क्षति पुगेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव दीपक सिंह बताउँछन् । ‘हमाल खेलकुदको क्षेत्रमा निकै लगनशिल व्यक्ति हुनुहुन्थ्यो्,’ सिंहले भने, ‘केही गरौं भन्ने हुटहुटी थियो उहाँमा, खेलकर्मीलाई समस्या पर्दा सहयोगका लागि सबैभन्दा अगाडि उहाँ नै आउनुहुन्थ्यो । त्यस्तो व्यक्ति सुदूरपश्चिमले फेरि पाउने आश नै छैन ।’ सिंहका अनुसार हमाल खेल क्षेत्रको विकास लागि तन, मन  र धन दिएर लाग्ने व्यक्ति थिए । 
कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले हमालको निधनले फुटबल क्षेत्रमा निकै ठुलो क्षति पुगाएको बताए । हमालका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया