धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामलाई खेल क्षेत्रमा गेमचेन्जर आयोजनाको रुपमा हेिरएको छ । पाँच वर्षमै आयोजनाको काम सम्पन्न गर्ने गरी पूर्वाधार विकास समिति गठन गरिए पनि पूर्वतयारीमै तीन वर्ष सकिएको छ । ०७९ जेठ २० गते नेपाल सरकारले ‘ड्रिम फाप्ला’ का अभियन्ता सुवाश शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।
सो समितिको पदावधी जेठमा सकिएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले समितिको अवधि चार महिनाका लागि थप गरेको छ । पूर्वतयारीमै तीन वर्ष बितेपछि फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम बन्नेमा आशंका व्यक्त गर्न थालिएको छ ।
कैलालीकाे धनगढीमा फाप्ला बन्नेमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष नै विश्वस्त देखिएका छैनन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको फाप्ला आयोजनालाई खेलग्राम नभई क्रिकेट मैदान मात्रै निर्माण गर्ने गरी अगाडि बढाउनुपर्ने तर्क छ । ‘फाप्लाको सधैँ चर्चा हुन्छ, नामै पनि ड्रिम फाप्ला छ,’ आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चन्दले भने, ‘सपनामा मात्रै रहने सम्भावना पनि हुनसक्छ । किनकि सपना त पूरा नहुन पनि सक्छ । सपना देखेपछि पूरा हुनुपर्छ भन्ने हो । फाप्लामा अन्य थुप्रै आयोजनाभन्दा पनि क्रिकेट मैदानको योजना मात्रै अगाडि बढ्नुपर्छ भन्ने मान्यता हो ।’
उनले फाप्लाको लागत भारतमा निर्माण भएको नरेन्द्र मोदी स्टेडिएमको लागत जत्तिकै राखिएको बताउँदै त्यसरी फाप्ला परियोजना सफल हुनेमा आशंका व्यक्त गरे । ‘फाप्ला र नरेन्द्र मोदी स्टेडिएमको लगानी एउटै राख्दा कसरी सफल होला,’ चन्दले प्रश्न गर्दै भने, ‘मैले सम्बन्धित पक्षलाई अनुरोध गरेको छु, सबै खेल संरचनाभन्दा क्रिकेटलाई मात्रै अगाडि बढाउनुपर्छ । अहिले क्रिकेट मैदान आवश्यक हो । फाप्लामा क्रिकेट संघको सहभागिता पनि हुनुपर्छ । अहिलेसम्म त हामीलाई केही जानकारी नै दिइएको छैन ।’
अध्यक्ष चन्दले नेपाली क्रिकेटमा सबैभन्दा ठुलो योगदान रहेको सुदूरपश्चिम प्रदेश पूर्वाधार विकासमा भने पुछारमा रहेको बताए । ‘अन्य प्रदेशमा प्रदेश सरकारले जिम्मेवारी बोध गरेका छन्,’ उनले भने, ‘हामीले यहाँको प्रदेश सरकार र स्थानीय सरकारलाई जिम्मेवार बनाउन सकेनौं । कन्भेन्स गर्न सकेनौं ।’
के–के भयो फाप्लामा काम
फाप्ला परियोजना पूर्वाधार विकास समितिका अध्यक्ष शाहीका अनुसार यो तीन वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नुका साथै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) संघीय वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउने काम भएको छ । ईआईए स्वीकृत भएपछि निर्माण समितिले आयोजनाको ब्रेक थ्रु भएको दाबी गरेको छ । निर्माणस्थल खाली गर्ने र बजेट व्यवस्थापन लगायतका काम भने बाँकी नै रहेको हो ।
ईआईए स्वीकृतिपछि रुख कटान आदेश लिई रुख काटिसकेपछि मात्रै पूर्ण रुपमा निर्माण प्रक्रिया अगाडि बढ्न सक्ने कानुनी व्यवस्था छ । समितिका अध्यक्ष शाही ईआईए स्वीकृत भएसंगै बहुवर्षीय ठेक्काको स्रोतको सुनिश्चितता लिएर ग्लोबल टेन्डर आह्वान मात्रै गर्न बाँकी रहेको दाबी गर्छन् । उनले भने जस्तै ग्लोबल टेन्डरमा जानका लागि राष्ट्रिय योजना आयोगको सहमतिमा संघीय अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चिता लिनुपर्छ ।
टेण्डर आह्वान गर्ने वर्ष कुल लागतको कम्तिमा २५ प्रतिशत बजेट विनियोजन भएको हुनुपर्छ । आर्थिक वर्ष २०८२/८३ मा फाप्लाका लागि एक अर्ब मात्रै विनियोजन भएको अध्यक्ष शाहीले बताए । उनले नेपाल सरकारको विनियोजनका साथै अन्य क्षेत्रबाट समेत लगानी जुटाएर निर्माण गर्ने दाबी गरे ।
अध्यक्ष शाहीका अनुसार क्रिकेट मैदान तथा खेलग्राम बन्ने कैलालीको धनगढी उपमहानगरपालिका– ३ मा कम्तिमा २६ हजार रुख छन् । मन्त्रालयबाट ईआईए स्वीकृत भए पनि रुख कटानको लागि आदेश लिने तयारी स्वरुप रुखको छपान, कटान आदेश लिन अझै बाँकी छ । ईआईए स्वीकृत भइसके पनि स्थानीय समुदायिक वनको सहमति लिन, डिभिजन वन कार्यालय कैलालीबाट सिफारिस लिन र सरकारबाट कटानका लागि स्वीकृति पाउन बाँकी छ ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टले ईआईएमा उल्लेखित काट्नुपर्ने रुख कुन–कुन हो भनेर पहिले प्रमाणित गर्नुपर्ने बताए । त्यसपछि स्थानीय समुदायिक वनले निर्णय गरेर डिभिजन वन कार्यालयमा सिफारिसका लागि पठाउनुपर्ने भट्टले बताए ।
अध्यक्ष शाहीका अनुसार फाप्लालाई राष्ट्रिय योजना आयोगले सञ्चालन गरेको आयोजना बैंकमा राखेर निर्माणका लागि बजेट व्यवस्थापन गर्न बाँकी छ । उनले नेपाल सरकारबाट निर्माण गर्नुपूर्व निर्माणस्थल खाली गर्नका लागि रुख कटान आदेश पनि लिन पनि बाँकी छ ।
कुल २६ अर्ब लगानीमा निर्माण गर्ने भनिएको फाप्लामा पहिलो चरणमा क्रिकेट मैदान निर्माण लगायतको संरचना निर्माण गरिने समितिका अध्यक्ष शाहीले बताए । उनले सोको निर्माणमा मात्रै १४ अर्ब बजेट आवश्यक पर्ने बताए । फाप्ला अन्तराष्ट्रि क्रिकेट मैदान तथा खेलग्राममा ५० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, फुटबल मैदान, पौडी पोखरी, ट्रयाक, अभ्यास फिल्ड, स्पोर्टस् म्युजियम, टेक्वान्डो एकेडेमी, मल्टिस्पोट्स हल, स्टाफ आवास, खेलाडी आवास लगायतको संरचना निर्माण गर्ने गरी डीपीआर बनेको छ । खेलग्राममा अस्पताल क्षेत्र, कमर्सियल मल, होटेल, मल्टिस्टोरी पार्किङ र सर्फेस पार्कीङ क्षेत्र र गार्डेन समेत निर्माण गर्ने डीपीपआर बनेको छ ।
प्रतिक्रिया