ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा ‘प्रहरीको सेटिङ रहेको’ सप्लायर्समा सशस्त्रको छापा, ३५ लाख बढीको सामान बरामद

बिहिबार २२, साउन २०८२ ०५:४२

धनगढी । कैलालीको धनगढीमा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटर कैलाली, सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र कैलाली भन्सारको सयुक्त टोलीले धनगढी बसपार्कमा रहेको एक गोदाममा छापा हानेर ३५ लाख बढी मूल्यको सामान बरामद गरेको हो भने सञ्चालकलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहका अनुसार बालाजी फेन्सीको नामले परिचित राधागोविन्द सप्लायर्समा छापा हानेर ३५ लाख २१ हजार २४० मूल्यको सामान बरामद गरिएको हो ।

‘भन्सार छलेर भारतबाट सामान ल्याएको सूचनाको आधारमा हाम्रो टोली त्यहाँ पुगेको थियो,’ डीएसपी शाहले भने, ‘भन्सार छलीको लेडिज सुट, बच्चाको कपडासहित फेन्सी कपडा फेला परेपछि बरामद गरिएको छ ।’

डीएसपी शाहले राधागोविन्द सप्लायर्सका सञ्चालक अंकुश गुप्तालाई पक्राउ गरिएको पनि जानकारी दिए । ‘पक्राउ परेका व्यक्ति र बरामद सामान भन्सार कार्यालय कैलालीमा दाखिला गरेका छौं,’ डीएसपी शाहले भने, ‘बाँकी कारबाहीको प्रक्रिया भन्सार कार्यालयले अगाडि बढाउँछ ।’

समाचार स्रोतका अनुसार गुप्ताले नेपाल प्रहरीसंग सेटिङ गरेर भारतबाट भन्सार छलेर सामान भित्र्याउँदै आएका थिए । ‘प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीको सेटिङमा गुप्ता भन्सार छलेर सामान भित्र्याउँदै आएका थिए,’ जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले भन्यो, ‘सशस्त्र प्रहरीले उक्त सूचना पाएपछि छापा हानेको हो ।’

प्रतिक्रिया