धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ । घाइते ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए । शुक्रबार राति कैदीबन्दीबीच झडप भएको बताइएको छ ।
कारागारमा बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । २८ असारमा पनि कारागारमा कुटाकुटको अवस्था सृजना भएको थियो । कारागारका नाइके खगेन्द्र बोगटी कुटिएका थिए ।
नाइकेमाथि कुटपिट भएपछि कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका थिए । उनीहरुले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।
नाइकेमाथि कुटपिट हुनअघि २६ असारको राति प्रमुख जिल्ला अधिकारी गोगन हमाल नेतृत्वको टोलीले कारागार निरीक्षण गरेको थियो । सो क्रममा ब्लक ए मा रहेका कैदीबन्दीहरुसंग मोबाइल फेला परेको थियो । त्यसको भोलिपल्ट ब्लक ए मा रहेका सात जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियो ।
प्रतिक्रिया