ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेलरविहीन कैलाली कारागार : पटकपटक झडप, डेढ महिनामा दुई कैदीबन्दीको मृत्यु

शनिबार २४, साउन २०८२ ११:५२

धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच शुक्रबार राति झडप भयो । दुई पक्षबीच भएको झडपका क्रममा ढुंगामुडासंगै जिमका लागि राखिएका सामाग्री हानाहान भएको थियो । झडप हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान गयो । 

अन्य ४७ जना कैदीबन्दी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार शुक्रबार राति ब्लक ‘ए’ र ब्लक ‘बी’ मा रहेका कैदीबन्दीबीच झडप भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार मृतक चौधरीलाई ब्लक ‘बी’ मा राखिएको थियो । 

कैलाली कारगारमा झडप भएको शुक्रबार पहिलोपटक होइन । बिहीबार राति पनि कैदीबन्दीबीच हानाहान भएको थियो । पाँच जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा र प्रहरी नायब उपरीक्षक राजकुमार सिंह कारागार पुगेपछि अवस्था साम्य भएको थियो । 

शुक्रबार बिहानैदेखि ब्लक ‘ए’ र ब्लक ‘बी’का कैदीबन्दी ढुंगा हानाहान नै भइरहेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी प्रमुख राणासतिह सुरक्षा समितिको टोली कारागार पुग्यो । दुबै ब्लकका कैदीबन्दीसंग छुट्टाछुट्टै छलफल भयो । छलफलपछि अवस्था सामान्य भएको कारागारका खरिदार रामप्रसाद चौधरीले बताए । ‘शुक्रबार राति झण्डै एक बजे ढुंगामुडा भएको खबर आएको थियो,’ उनले भने, ‘त्यसपछि घाइतेलाई अस्पताल पुगाएका थियौं ।’

२८ असारमा पनि कैलाली कारागारमा कुटाकुटको अवस्था सिर्जना भएको थियो । कारागारका नाइके खगेन्द्र बोगटी कुटिएका थिए । नाइकेमाथि कुटपिट हुनुअघि २६ असारको राति प्रमुख जिल्ला अधिकारी गोगन हमाल नेतृत्वको टोलीले कारागार निरीक्षण गरेको थियो । सो क्रममा ब्लक ए मा रहेका कैदीबन्दीहरूसँग मोबाइल फेला परेको थियो । त्यसको भोलिपल्ट ब्लक ए मा रहेका सात जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियो । त्यसयता कैदीबन्दीबीच निरन्तर झडप हुँदै आएको छ । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशी कैदीबन्दी सरुवाको विषयले कारागारमा विवाद बढेको बताउँछन् । ‘कसैले सरुवाको विरोधमा विवाद गर्छन् त कसैले अन्य व्यक्तिको सरुवा हुनुपर्छ भन्दै विवाद गर्छन्,’ सूचना अधिकारी जोशीले भने, ‘सोही विषयले झडपको अवस्था सृजना भइरहेको छ ।’

कारागार स्रोतले दिएको जानकारीअनुसार कैदीबन्दी सरुवासंगै झडपपछि अर्को कारण पनि छ । ‘३ असारमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका १४ जनालाई छुट्टाछुट्टै तीन कारागारमा सरुवा गरिएको थियो,’ कारागार प्रशासन स्रोतले भन्यो, ‘सरुवाअघि कारागारभित्र उनीहरुकै चल्ने गरेको थियो । उनीहरुको सरुवा भएपछि नयाँ समूह बनाएर कारागारभित्र दबदबा चलाउन प्रतिस्पर्धा नै चलेको छ । सोही क्रममा झडप पनि भइरहेको हो ।’

बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीसिंह पालीको २ असारमा मृत्यु भएको थियो । कैलाली कारागार चलान भएको भोलिपल्टै पालीको मृत्यु भएको थियो । घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको थियो । छानबिन समितिमा प्रहरी, राष्ट्रिय अनुसन्धान र पीडित पक्षलाई पनि राखिएको थियो ।

छानबिन समितिले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई प्रतिवेदन बुझाइसकेको छ । ‘मृतक पालीको शरीरमा चोटपटक देखिएको थियो, पोष्टमार्टम रिपोर्टले पनि कुटपिटका कारण मृत्यु भएको संकेत गरेको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं । बाँकी अनुसन्धान र कारबाहीको प्रक्रिया कारागार विभागले अगाडि बढाउँछ होला ।’ 

कारागारमा निरन्तर झडप, जेलर र निमित्त बिदामा
२८ असारमा नाइकेमाथि कुटपिट भयो । कैदीबन्दीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखकै अगाडि जेलर बसन्त खत्रीविरुद्व नारावाजी गरे । ३१ असारमा स्वास्थ्यको कारण देखाउँदै जेलर खत्री बिदामा गए । प्रमुख जिल्ला अधिकारी हमालले नै बिदा स्वीकृत गरिदिए । 

निमित्त जेलरको जिम्मेवारी नायब सुब्बा ज्ञानेन्द्र ओझाले पाए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार केही दिनअघि ओझा पनि बिदामा गएका छन् । कैदीबन्दीबीच निरन्तर झडप भइरहदा कारगार भने जेलरविहीन छ । 

छानबिन समिति गठन
शुक्रबार रातिको घटनाको बिस्तृत अनुसन्धान गर्न जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ ।

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति गठन गरेको हो ।

समितिलाई घटनाको छानबिन गरि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया