धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटा अस्पताल, व्यवस्थापन समितिविहीन भएको लामोसमय भइसक्दा पनि नियुक्तिमा ढिलाइ भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भागबण्डामा सहमति नजुट्दा अस्पताल व्यवस्थापन समितिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दुई प्रादेशिकसहित आठ वटा अस्पताल व्यवस्थापन समिति गत फागुनदेखि पदाधिकारी र सदस्यविहीन छ भने डोटी अस्पताल पनि चैतदेखि समितिविहीन भएको छ ।
प्रदेश सरकारले ०७८ फागुन २९ गते अस्पताल व्यवस्थापन समितिमा तीन वर्षका लागि राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका थिए । त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए । सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई ०७८ चैतमा नियुक्त गरेको थियो ।
सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. चेतराज जोशीका अनुसार प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्यको पद रिक्त भएको छ । ‘सेती र महाकाली प्रादेशिक अस्पताल तथा टीकापुर अस्पतालमा पदाधिकारीको नियुक्ति मन्त्रीपरिषद् बैठकले गर्दै आएको छ,’ उनले भने, ‘अन्य अस्पतालमा सामाजिक विकास मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति हुने व्यवस्था छ ।’
महिनौदेखि व्यवस्थान समिति रहेका अस्पतालमा नीतिगत कार्य प्रभावित भएको बताइएको छ । यस्तै, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न समस्या भएको बताइएको छ ।
सत्तारुढ दलबीच भागबण्डामा सहमति नजुट्दा नियुक्तिमा ढिलाइ भएको बताइएको छ । दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा काँग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भए पनि नियुक्ति गरिएको छैन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठक नबसेको पनि धेरै भएको छ । यसअघि ०८१ फागुनमा बसेको संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्ति गर्ने सहमति गरेको थियो । तर, उक्त सहमति कार्यान्वयन भएको छैन ।
प्रतिक्रिया