ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा जेनजी आन्दोलन : कहाँ के भयो ?

मङ्गलबार २४, भदौ २०८२ ०३:२३

धनगढी । जेनजी पुस्ताले थालेको आन्दोलनको मंगलबार दोस्रो दिन । मंगलबार बिहानैदेखि सरकारी दमनविरुद्व उत्रिएका जेनजी युवाहरुको प्रदर्शन नियन्त्रणबाहिर छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सरकारले बल प्रयोग गरेर जेनजी युवाको हत्या गरेको भन्दै प्रदर्शन सुरु गरिएको थियो । 

प्रदेशको राजधानी कैलालीको धनगढीमा प्रदर्शन सुरुवातदेखि नै नियन्त्रणबाहिर रह्यो । सुरुमा जेनजी युवाहरुसंगै अन्य सर्वसाधारणले प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका थिए । घेराउपछि कार्यालयभित्रै प्रवेश गरेका उनीहरुले त्यहाँ पार्किङ गरिएको सरकारी गाडी तोडफोड गरे । 

आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि कैलालीका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको सूचना जारी गरे । निषेधाज्ञा लागू नहुँदै जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी ग¥यो । उक्त सूचनामा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा कफ्र्यु आदेश जारी गरिएको थियो । १२ बजेर २० मिनेटदेखि कफ्र्यु जारी गरिए पनि त्यसको बेवास्ता गर्दै युवाहरुले प्रदर्शन जारी राखे । 

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजनी गरियो । धनगढीकै एक होटलमा पार्किङ गरिएका दुई सरकारी गाडीमा आगजनी गरियो । प्रदर्शनकारीले धनगढी उपमहानगरपालिका– १ स्थित नेकपा एमाले र नेपाली काँग्रेसको कार्यालयमा पनि आगजनी गरेका छन् । 

कफ्र्युकैबीच जेनजी पुस्ताले सुदूरपश्चिम प्रदेशसभा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मुख्य न्यायाधीवक्ता, नापी, मालपोत, भन्सार, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतमा आगजनी र तोडफोड गरेका छन् ।

उनीहरुले विभिन्न समूह बनाएर प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादी पाटीको कार्यालय र नेकपा माओवादीको कार्यालयको सामान बाहिर निकालेर जलाएका छन् । सामाजिक विकास मन्त्रालय र प्रदेश प्रमुखको कार्यालयमा रहेका दुई वटा गाडी समेत जलाइएको छ । यस्तै प्रदर्शनकारीहरुले गोदावरी नगरपालिकाको कार्यालय, लम्कीचुहा नगरपालिको कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । उनीहरुले धनगढी चौराहा सरकारी मोटरसाइकल पनि जलाएका छन् ।

उता डडेल्धुरामा पनि दिनभर प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् । 

उता दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । कञ्चनपुर पनि बिहानैदेखि असान्त छ । प्रमुख जिल्ला अधिकारीले त्यहाँ निषेधाज्ञा जारी गरेका छन् । त्यहाँ पार्टी कार्यालय र सरकारी कार्यालयमा आगजनी गरिएको छ भने पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि तोडफोड गरिएको छ । 

सुदूरपश्चिमका अन्य जिल्लामा पनि भ्रष्टाचार, बेतिथि र सामाजिक सञ्जालमाथिको रोकविरुद्व आन्दोलन भएको छ । 
 

प्रतिक्रिया