धनगढी । जेनजी आन्दोलनको फाइदा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सहकारी ठगीको आरोपमा थुनामा रहेका रवि लामिछानेलाई जेलबाहिर निकालेपछि देशैभर कैदीबन्दीलाई जेलबाहिर निकाल्ने लहर चल्यो । जेनजी आन्दोलनको भिड देखाएर रास्वपका कार्यकर्ताहरुले लामिछानेलाई जेलबाहिर निकालेको खबर फैलिएसंगै सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी कारागारबाहेक सबै जिल्ला कारागारबाट कैदीबन्दी भगाइयो । डोटीको बाल सुधारगृहबाट बन्दी भागेका छन् ।
कारागारमा रहेका फौजदारी अपराधमा आजीवन कैद भुक्तान गरिरहेका समेत प्रदेशका कारागार र एक सुधार गृहबाट गरि एक हजार ३३१ जना कैदीबन्दी भोगेका छन् । भागेकामध्ये ६० जनालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ ।
कैलाली जिल्ला कारागारबाट भागेका ६१२ जना कैदीबन्दीमध्ये दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकी कैदीहरुको खोजी भइरहेको प्रशासनले जनाएको छ ।
यसैगरी, डडेल्धुरा जिल्ला कारागारबाट भागेकामध्ये ३१ जना कैदीबन्दी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मंगलबार आन्दोलनकारी कारागार पसेर ८५ जना कैदीबन्दीलाई भगाएका थिए । बाँकी कैदीबन्दीहरुको नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरिरहेको छ ।
बझाङ कारागारबाट ८५ मध्ये ६६ जना भागेका छन् । तीमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी कारागारमा पठाएको छ ।
जेनजी आन्दोलनको आडमा देशभरका कैदीबन्दी भागेको खबरले अछाम जिल्ला कारागारमा बुधबार बिहानै कैदीबन्दी र कैदीबन्दीका आफन्तसंग सुरक्षाकर्मीको झडपको स्थिति बनेको थियो । देशैभरको कैदीबन्दी रिहा भएको भन्दै अछामका कैदीबन्दीलाई छुटाउन उनीहरुका आफन्त जिल्ला कारागार पुगेपछि सुरक्षाकर्मीले रोकेका थिए ।
भित्रबाट कैदीबन्दीहरु पनि भाग्नका लागि तोडफोड र आगजनीको प्रयास गरेपछि कारागारमा तनाव उत्पन्न भएको प्रशासनले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले थप बल परिचालन गरेको थियो ।
मंगलबार साँझा बैतडी कारागारबाट ६२ जना कैदीबन्दी भागेका छन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
कञ्चनपुर जिल्ला कारागारमा ४७६ जना कैदीबन्दी रहेकोमा २२ जनाबाहेक सबै भागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । डीएसपी सागर बोहराले १३ जना पुरुष र ९ जना महिला कैदीले कानुन उलंघन नगर्ने भन्दै बाहिर नगएको बताए । केही कैदीबन्दी फेरि पक्राउ परेका छन् ।
यसैगरी, डोटीस्थित बाल सुधार गृहमा रहेका ५२ जना बालबन्दीलाई समेत आन्दोलनकारीले भगाएका छन् । तर डोटी जिल्ला कारागारमा रहेका कैदीबन्दी भने जेलमै रहेको बताइएको छ ।
प्रतिक्रिया