ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली यातायातमा छ करोड बढीको क्षति, साढे चार करोडका इम्बोस्ड नम्बर प्लेट खरानी

शुक्रबार ०३, असोज २०८२ ०३:४४
  • यातायात कार्यालयमा छ करोड बढीको क्षति
  • सवारीसाधन सम्बन्धी सेवा सुचारु
  • लाइसेन्स सम्बन्धी सेवा अझै अवरुद्ध

धनगढी । नेपाल सरकारले जबरजस्ती लाद्न खोजेको भन्दै विरोध भएको इम्बोस्ड नम्बर प्लेट जेनजी आन्दोलनको क्रममा जलाइएको छ । यातायात व्यवस्था कार्यालय कैलालीको प्राविधिक कक्षको गोदाममा राखिएको १८ हजार एक सय इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएको यातायाता व्यवस्था कार्यालय धनगढीले जनाएको छ । असोज १ गतेदेखि मोटरसाइकलमा जडान गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले पठाएको सो इम्बोस्ड नम्बर प्लेट जेनजी आन्दोलनका प्रर्दशनकारीहरुले सरकारी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा भदौ २४ गते जलाएका थिए । 

गट्टासहितको बाकसभित्र प्याकिङ गरेको सो प्लेट तीन दिनसम्म दनदनी बलेको थियो । समयमै आगो नियन्त्रणको प्रयास नहुँदा पूर्ण रुपमा क्षति भएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशीका अनुसार प्रतिनम्बर प्लेट दुई हजार पाँच सय रुपैयाँ लिएर जडान गर्ने योजना थियो । उक्त मूल्यअनुसार चार करोड ५२ लाख ५० हजार रुपैयाँको एम्बोस्ड नम्बर प्लेट जलेको छ ।

भदौ २५ गते यातायाता विभागको टोली धनगढी आई इम्बोस्ड नम्बर प्लेटको विषयमा यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई प्रशिक्षण दिने योजना थियो । तर, २४ गते नै देशमा उथलपुथल भई धनगढी पुगेको इम्बोस्ढ नम्बर प्लेट जल्न थालेपछि योजना अवरुद्ध भएको थियो ।

यातायात व्यवस्था कार्यालय तोडफोड र आगजनी गर्ने उद्देश्यले पुगेका प्रदर्शनकारीले सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको इम्बोस्ड नम्बर प्लेट भएको गोदाममा पहिले आगो लगाएका थिए । उनीहरुले त्यसपछि सो कार्यालयको अन्य शाखाहरुमा आगो लगाएका थिए । इम्बोस्ड नम्बर प्लेटको विरोध गर्नेहरुले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजनामा ठुलो आर्थिक चलखेल भएको, नेपाली भाषाको अवमुल्यांकन गरेको र प्रलोभनमा परी सरकारले सवारीसाधन धनीलाई आर्थिक भारमा पार्न खोजेको आरोप लगाएपछि सो योजना विवादित बनेको थियो । त्यसपछि यातायात व्यवस्था विभागले सवारी धनीले स्वेच्छिक रुपमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने दाबी गरेको थियो । सरकारले सवारी साधनको ट्रयाकिङ गर्ने उद्देश्यले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना ल्याएको जनाएको थियो ।

कार्यालय प्रमुख जोशीले यातायात व्यवस्था कार्यालयमा सबैभन्दा बढी क्षति इम्बोस्ड नम्बर प्लेटमा भएको बताए । उनले कार्यालयमा रहेको सवारी साधनको सम्पूर्ण ढड्डा रेकर्ड, फर्निचर, कम्प्युटर जलेको बताए । उनले इम्बोस्ड नम्बर प्लेट बाहेकको एक करोड ५० लाख रुपैयाँको क्षति भएको बताए । यातायात व्यवस्था कार्यालयमा छ करोड दुई लाख ५० हजार रुपैयाँको क्षति भएको छ । उनले आगजनीपछि तत्काललाई इम्बोस नम्बर प्लेट जडान सेवा स्थगित भएको बताए ।

यसैबीच, यातायात व्यवस्था कार्यालय धनगढीले जलेको कार्यालय सरसफाई गरी आंशिक रुपमा सेवा सुरु गरेको छ । कार्यालय सरसफाई र मर्मतको केही काम भएपछि सवारीसाधन जाँचपास, नविकरण, दर्ता, कर संकलन र रुट प्रमिट दिने काम सुचारु गरिएको कार्यालय प्रमुख जोशीले बताए । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी पूर्णसेवाहरु सुचारु गर्न बाँकी रहेको बताए । उनले कार्यालय सरसफाई र मर्मतको सम्पूर्ण काम सकिएपछि मात्रै सो सेवा सुचारु हुने बताए ।
 

प्रतिक्रिया