ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारका चार कार्यालयको सवा २१ करोडको जिन्सी सामान क्षति

शुक्रबार १०, असोज २०८२ ०३:०८

धनगढी । जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम प्रदेश सरकारका चार वटा कार्यालयको भौतिक संरचनाबाहेक सवा २१ करोड रुपैयाँको जिन्सी सामाग्रीमा क्षति पुगेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको विवरणअनुसार प्रदेशका चार कार्यालयको २१ करोड २१ लाख ३७ हजार ७७६ रुपैयाँको भौतिक संरचना बाहेकको पुँजीगत तथा जिन्सी सामाग्री क्षति भएको छ ।

त्यसबाहेकका कार्यालयहरुको क्षतिको विवरण पनि मुख्यमन्त्री कार्यालयले तयार गरेको भए पनि ति कार्यालयहरुको क्षतिको रकम उल्लेख भएको छैन ।
प्राप्त वितरणअनुसार मुख्यमन्त्री कार्यालयको नौ करोड ७४ लाख ५१ हजार ४१२ रुपैयाँ, भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय धनगढीको ९९ लाख ८३ हजार रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तीन करोड ३४ लाख ७९ हजार ८७६ रुपैयाँ र सो मन्त्रालयका मन्त्रीको निवासमा १९ लाख ११ हजार ९५६ रुपैयाँ तथा प्रदेशसभाको छ करोड ९३ लाख २१ हजार ५२३ र को क्षति भएको छ ।

मुख्यमन्त्री कार्यालयले भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय, सहरी विकास तथा भवन कार्यालय धनगढी, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय धनगढी, प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, सुदूरपश्चिम प्रदेश प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान लगायतका कार्यालयमा तोडफोड र आगजनी भएको विवरण संकलन गरेको छ । तर, ति कार्यालयहरुको क्षतिको विवरणमा रकम उल्लेख गर्न बाँकी छ ।

रकमसहित क्षति विवरण पठाउने कार्यालयको पनि विवरण अध्यावधिक एकिन गर्ने कार्य जारी रहेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी जगदीश जोशीले बताए । उनका अनुसार यो विवरण प्रारम्भिक रुपमा सम्बन्धित कार्यालयले पठाएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालयको छ करोड ५० लाखको सात वटा गाडी, दुई करोड ५० लाखको १३ वटा मोटरसाइकल, एक लाख ९१ हजार पाँच सय मुल्यको तीन वटा स्कुटर लगायतको क्षति भएको छ ।

यसैगरी, प्रदेशसभाको ६९ लाख ९९ हजारको एउटा मिनि बस, आठ लाख दुई हजार छ सय मुल्यको चार वटा मोटरसाइकल, दुई लाख १० हजार नौ सय मुल्यको एउटा स्कुटर, तीन करोड ३१ लाख ४९ हजार मूल्यको छ वटा जीप, ७१ लाख ९५ हजार रुपैयाँको एउटा पिकअप भ्यान, २३ लाख ५१ हजार ४७२ रुपैयाँको ३१ वटा डस्कटप कम्प्युटर, ३४ लाख ५४ हजार ५०४ रुपैयाँमो ५७ वटा प्यापट, एक लाख ६५ हजार २२८ रुपैयाँको पाँच वटा फोटोकपी मेसिन, दुई लाख ८२ हजार ९८१ रुपैयाँको सात वटा टेलिभिजन, एक लाख छ हजार ९३० रुपैयाँको दुई वटा इन्टरकम, तीन लाख ६१ हजार ९९१ रुपैयाँको डिजिटल क्यामरा, ३९ हजार ५५० रुपैयाँको एयटा क्यामरा लेन्स, १५ लाख ७३ हजार ९३३ रुपैयाँको चार वटा भिडियो क्यामरा, दुई लाख ८५ हजार ४८७ रुपैयाँको ९ वटा मोबाइल सेट, तीन लाख २३ हजारको १२ वटा सिसि क्यामरा, एक लाख ८० हजार रुपैयाँको कन्फेरेन्स माइक, तीन लाख ५४ हजार २१७ रुपैयाँको प्रिन्टर क्षतिको छ ।

प्रतिक्रिया