ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

तीन दशकदेखि स्तरोन्नतिको पर्खाइमा सुदूर पहाडको ‘लाइफलाइन’ सडक

सोमबार ०१, पुष २०८१ १२:०७

धनगढी । पाँच दशकअघि सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई आवतजावत गर्दा यातायातको सुविधा थिएन । पहाड जोड्ने सडक नहुँदा हिडेरै कैलाली र कञ्चनपुर पुग्थे पहाडका बासिन्दा । ०१८ सालतिर भीमदत्त राजमार्ग (अत्तरिया–डडेल्धुरा जोड्ने सडक) निर्माणको चर्चा सुरु भयो । त्यसपछि सडक रेखांकन र ट्र्याक खोल्ने काम भएर ०२९ सालमा पहिलोपटक डडेल्धुरामा गाडी पुगेको थियो । 

०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम ०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशक पुग्नै लाग्दा पनि सडक स्तरोन्नतिको काम भएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ । तर, उक्त मर्मत पनि एक वर्ष टिक्ने गरेको छैन । 

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, त्यहीँ लाइफलाइन सडकको भने बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३–३३ किलोमिटर पर्छ । 

सवारी चालक बिमल बोहरा भीमदत्त राजमार्गअन्तर्गत डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको बताउँछन् । ‘हगुल्टे लेक क्षेत्रमा त कच्ची सडकभन्दा पनि दयनीय छ,’ उनले भने, ‘डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेकोमा अहिले सडककै अवस्था बिग्रेपछि पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ ।’ हगुल्टे लेक क्षेत्रमा बर्सेनि हिमपात हुने गरेको छ । तर, सडक डिभिजन कार्यालयले सामान्य मर्मत मात्रै गर्ने भएकाले उक्त क्षेत्रमा सडक वर्ष दिन नपुग्दै भत्किने गरेको छ । अर्का सवारी चालक रोशन ऐरका अनुसार ठाउँठाउँमा सडक भत्किएको र सयौँ खाल्डाखुल्डी भएकाले आवतजावतमा समस्या हुने गरेको छ । 

राजमार्गको डडेल्धुरा र डोटी खण्ड सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । कार्यालयका प्रमुख रमेश भट्टराईका अनुसार सडक मर्मतका लागि यसअघि ठेक्का भएको तर ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको हो । ‘यसअघि सडक मर्मतका लागि तीनवटा ठेक्का लगाइएको थियो,’ उनले भने, ‘तर, ती ठेकेदारले न त मर्मतको काम गरे न कार्यालयले ठेक्का तोड्ने काम नै गरेको थियो । अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाएका छौँ ।’ राजमार्गको भात्काडादेखि गैरासम्म पाँच करोडमा उच्चाकोटी निर्माण कम्पनीले ठेक्का पाएको छ । यस्तै, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावतीले ठेक्का पाएको छ । यसबाहेक डडेल्धुरा–बैतडी राजमार्गमा अनारखोली क्षेमा सडक मर्मतका लागि चार करोडमा उमा विल्डर्सले ठेक्का पाएको छ । तर, चिसो बढेको भन्दै निर्माण व्यवसायीले काम सुरु गरेका छैनन् । 

यस्तै, भीमदत्त राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ । राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक बगाएको थियो । अहिले उक्त क्षेत्रमा ६ करोड ६० लाखको ठेक्का लगाएर काम भइरहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले जनाएको छ । जीएसआई हटैराज जेभीले ठेक्का पाएर काम गरिरहेको छ । उक्त क्षेत्रमा कटिङ र वाल लगाउनेलगायतको काम भइरहेको छ । पुसभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोमा अहिलेसम्म आधा काम पनि सकिएको छैन । सडक डिभिजन कार्यालयका अनुसार राजमार्गको स्तरोन्नति नभए पनि समय–समयमा आवधिक र पटके मर्मत हुँदै आएको छ । अहिले सहजपुरदेखि फल्टुडेसम्म आवधिक मर्मत भएकाले उक्त क्षेत्रमा सडकको अवस्था ठीक छ । अन्य क्षेत्रमा पटके मर्मत मात्रै हुने गरेको छ ।

प्रतिक्रिया