ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बदलिँदैछ सिंहपुर गाउँको मुहार

आइतबार ०९, कार्तिक २०८२ ११:०६

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ प्रवेश गर्दा पहिलो नजरमै सफा र चिटिक्क सडकले जोकोहीको ध्यान तान्छ। सडक छेउका चोकचौराहामा बस्न बनाइएका गोलघरले गाउँको सौन्दर्यता थप्ने कार्य गरेका छन्। थारू समुदायको बाहुल्यता रहेको यो गाउँ अहिले सामूहिक एकता, संस्कृति संरक्षण र आत्मनिर्भर विकासका कारण चिनिन थालेको छ।

गाउँका बासिन्दाले विकास र सहकार्यलाई जीवनशैलीकै रूपमा अपनाएका छन्। गाउँमा कुनै सभा, छलफल वा बैठक गर्न छुट्टै भवन निर्माण गरिएको छ। आपतविपद् वा कुनै सामाजिक कार्यमा गाउँका युवादेखि वृद्धसम्म सबै एकजुट भएर लाग्छन्। यही सामूहिक भावना र सहयोगकै कारण सिंहपुर ‘एकताको गाउँ’को उपनामले परिचित छ।

संस्कृति संरक्षणमा पनि गाउँ अग्रस्थानमा छ। थारू समुदायको परम्परागत नाच, गीत, पहिरन र चालचलन जोगाउन युवाहरू सक्रिय छन्। गाउँमा युवालाई एकजुट गराउन ‘सिंहपुर युवा क्लब’ गठन गरिएको छ भने प्रौढहरूको सहभागिता सुनिश्चित गर्न ‘सिंहपुर गाउँ समाज’ स्थापना गरिएको छ। यी दुई संस्था सामाजिक र सांस्कृतिक एकताको माध्यम बनेका छन्।

क्लबमा हाल ७२ युवा आबद्ध छन्। गाउँ समाजमा ६९ सदस्य छन्। दुवै संस्थाले गाउँमा सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता अभिवृद्धि गर्न उल्लेखनीय योगदान दिएका छन्। गाउँ समाजका भलमन्सा ठाकुराम चौधरीका अनुसार गाउँमा विवाह, धार्मिक अनुष्ठान वा भोजभतेरका लागि बाहिरबाट टेन्ट वा भाँडाकुँडा ल्याउनु पर्दैन।

‘हाम्रो समाजसँगै डिजेबाजा, टेन्ट, भाँडाकँुडा सबै उपलब्ध छन्, सबै सामग्री गाउँकै स्रोतबाट जुटाइन्छ, जसले खर्च घटाएको छ भने सहकार्य बढाएको छ’, चौधरीले भने। समाजका सदस्यहरूले मौसमअनुसार धान, गहुँ सङ्कलन गरी बिक्री गरेर कोषमा जम्मा गर्छन्। अन्न नहुने सदस्यले नगद रकम योगदान गर्छन्। हाल समाजको कोषमा १५ लाख बचत छ। गाउँका सदस्यलाई आपतविपद् परेका बेला एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको भलमन्सा चौधरी बताउछन्। 

‘कसैलाई आकस्मिक रूपमा बिरामी परे वा दुर्घटना भयो भने बैंक–सहकारी धाउन नपर्ने व्यवस्था गरेका छौँ’, समाजका वरिष्ठ सदस्य जोगराज चौधरीले भने, ‘ पाँच हजारसम्मको सहयोग निःशुल्क दिइन्छ, त्यसभन्दा बढीमा ब्याज लिइन्छ।’ अहिलेसम्म ११ व्यक्तिलाई कोषबाट सहयोग प्रदान गरिएको छ।

युवाले पनि छुट्टै बचत कोष सञ्चालन गरेका छन्। प्रत्येक महिनाको बैठकमा क्लबका सदस्यले ५० बचत गर्छन्। युवाको कोषमा पनि १५ लाखको हाराहारीमा रकम बचत छ। क्लबका अध्यक्ष बाबुराम चौधरीका अनुसार छ–छ महिनामा युवाको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना हुने गरेको छ।

सरसफाइ गर्दा हुने फाइदा र नहँुदाका बेफाइदाबारे गाउँका बासिन्दालाई भेला गराएर जानकारी गराउने कार्य गरिँदै आएको छ। योसँगै लागुऔषध, मानव बेचबिखन तथा सामाजिक सञ्जालमा हुने ठगीबारे चेतनामूलक कार्यक्रम पनि नियमित रूपमा क्लबका आबद्ध युवाले स्वःस्फुर्त रूपमा सञ्चालन गर्दै आएका छन्। उनीहरुले समाजसँग सहकार्य गर्दै संस्कृति संरक्षणमा समेत अग्रसरता लिँदै आएका छन्। 

क्लबको मासिक बैठकमा समाज सुधार गर्न, चेतनमूलक कार्यक्रम गर्न, खेलकुदका गतिविधि सञ्चालन गर्न, युवाहरूको नेतृत्व विकाससम्बन्धीका छलफल हुने गरेको छ। खेलकुदको विकासमा पनि क्लब र समाज अग्रसर छन्। खेलाडीलाई हरेक वर्ष खेल सामग्री, जर्सीलगायत सामग्री वितरण गरिन्छ। गाउँमै खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।

समाज र युवा क्लबले संयुक्त रूपमा रु सात लाखमा जग्गा खरिद गरी करिब २० लाख लागतमा पक्की सभाहल निर्माण गरेको स्थानीय नत्थुराम चौधरीले बताए। यही भवन अहिले गाउँका सबै सामूहिक गतिविधिको केन्द्र बनेको छ। सिंहपुरको सामुदायिक वनमा पर्यटन प्रवद्र्धनका लागि नगरपालिकासँग सहकार्य गरी पाहुनाघर पनि निर्माण गरिएको छ। रासस

प्रतिक्रिया