धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीद्वारा धनगढीमा आज र्यालीसहित जनप्रदर्शन गरेको छ । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटीले र्याली निकालेर जनसभामा परिणत गरेको हो । धनगढी चौराहबाट सुरु भएको र्याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमाले जिउँदै रहेको बताउँदै आवश्यकता परे बलिदान गर्न तयार रहेको बताए । `एमाले जिउँदै छ, राष्ट्रका लागि बलिदान तयार छ,´ भट्टले भने ।
नेपाली जनताले ल्याएको सविधानबारे निर्णय गर्ने अधिकार अहिलेको सरकारलाई नभएको उनको भनाई थियो । `अहिलेको संविधान नेपाली जनताले ल्याएको हो, त्यसैले संविधानबारे निर्णय गर्ने अधिकार पनि एक जनालाई नभएर नेपाली जनतासंग मात्र छ ।´
विघटित प्रतिनिधिसभाको पुनःस्थापना नभएसम्म एमालेको आन्दोलन जारी रहने भट्टले बताए । सभालाई जिल्ला इन्चार्ज नारदमुनि राना, जिल्ला अध्यक्ष यज्ञराज ढुंगानासहित विभिन्न तहका पार्टी पदाधिकारी तथा नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया