दोधाराचाँदनी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।
कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ५४ रहेको थियो ।
त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
सो आवमा गहुँको उत्पादकत्व दुई दशमलव २९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र हजार ११२ हेक्टरमा उत्पादन भएको कोदोको उत्पादकत्व एक दशमलव १४ रहेको थियो ।
आव २०८०/८१ मा उत्पादन क्षेत्रफल घटे पनि उत्पादकत्व र उत्पादनमा वृद्धि भएको छ । उक्त आवमा धान उत्पादनको क्षेत्रफल चार हजार २४२ हेक्टर घटे पनि उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।
एक लाख ७९ हजार ४६ हेक्टरमा धानखेती हुँदा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेर छ लाख ७२ हजार ९२८ मेट्रिक टन पुगेको छ । उत्पादकत्व तीन दशमलव ७६ छ । एक लाख ३९ हजार ७३२ हेक्टरमा उत्पादन भएको गहँुको उत्पादकत्व वृद्धि भएर दुई दशमलव ३५ पुग्दा तीन लाख २८ हजार ६९ मेट्रिक टन उत्पादन भएको छ ।
त्यसैगरी, ४९ हजार २५८ हेक्टरमा मकै उत्पादन हुँदा उत्पादकत्व दुई दशमलव १७ रहेको थियो । मकैको उत्पादन वृद्धि भएर एक लाख छ हजार ९९७ मेट्रिक टन पुगेको छ । हरेक वर्ष उत्पादनको क्षेत्रफल घट्दा पनि उत्पादनमा वृद्धि हुँदै गएको निर्देशनालयको तथ्याङ्क छ । आव २०८२/८३ मा धान उत्पादनको क्षेत्रफल घटेर एक लाख ७७ हजार २३० पुग्दा उत्पादकत्व बढेर तीन दशमलव ८८ पुगेको छभने छ लाख ८६ हजार ८८७ मेट्रिक टन धान उत्पादन भएको छ ।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा बाली उत्पादनमा वृद्धि हुँदै आएको बताए । “सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै उत्पादन हुन्छ”, उनले भने, “खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण हरेक वर्ष उत्पादन र उत्पादकत्वमा वृद्धि भएको हो ।”
पछिल्लो समयमा सरकारले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ । यसबाहेक किसानहरूले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान र प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको कृषि अधिकृतहरू बताउँछन् ।
“उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ”, सूचना अधिकारी पाण्डेयले भने, “खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।” निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए । ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडानसमेत गर्ने गरेको उनले बताए । गत वर्ष ज्ञान केन्द्रले यहाँका नौवटा स्थानीय तहमा सात सय ७६ साना सिँचाइ (ट्युबेल) जडान गरेको थियो ।
“हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छौं”, उनले भने, “जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उनका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ ।
प्रतिक्रिया