ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

`सन्तुलित विकासको हकदार सुदूरपश्चिम पनि हो, हरेक मन्चमा न्यायपूर्ण माग प्रस्तुत गर्न बाध्य छौं´

सोमबार २२, मङि्सर २०८२ ०८:०८

धनगढी । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कराज ओझाले समानुपातिक र सन्तुलित विकासको हकदार सुदूरपश्चिमेली जनाता पनि भएको बताएका छन् । १९औं संस्करणको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

`महोत्सव उद्घाटन समारोहमा कैलाली उद्योग बाणिज्य संघ मागहरुको फेरिहस्त प्रस्तुत गर्न वा गुनासाहरुको थैली फुकाउन प्रस्तुत भएको होइन,´ ओझाले भने, `तर, हाम्रो अविकासको अवस्था हाम्रो नियती पक्कै होइन । समानुपातिक र  सन्तुलित विकासको हकदार हामी सुदूरपश्चिमेली जनता पनि हौं र, त्यसैले हामी हरेक मन्चमा आफ्ना न्यायपूर्ण मागहरु प्रस्तुत गर्न बाध्य छौं ।´

यस्तो थियो ओझाबाट मन्तव्य
१९औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यू, तथा उपस्थित सम्पूर्ण दिदीबहिनी, दाजुभाईहरु ।

सबैभन्दा पहिले सुदूरपश्चिम महोत्सव २०८२ को भव्य उद्घाटन समारोहमा कैलाली उद्योग वाणिज्य संघ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछौ । विगतका वर्षहरुमा झैं यसपटक पनि महोत्सव उदघाटनदेखि नै यहाहरुको आत्मीय समर्थन, सहभागिता र उपस्थितिको लागि आभार व्यक्त गर्दछु । र, कैलाली उद्योग बाणिज्य संघका हरेक गतिविधिमा यहाहरुको सधैं साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास गरेको छु ।

यो महोत्सवको उदघाटनको लागि आफ्नो निकै व्यस्त समयबाट हामीलाई समय दिनुभएकोमा माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यूमा हृदयदेखि नै आभार व्यक्त गर्दछु ।

माननीय अर्थमन्त्री ज्यू, विशिष्ठ अतिथि गण तथा सम्पूर्ण उपस्थित महानुभावका साथै विभिन्न सन्चार माध्यमबाट यो उदघाटन समरोह प्रत्यक्ष हेरिरहनु भएका र सुनिरहनु भएका देशविदेशका सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाईहरु
सुदूरपश्चिम प्रदेशको एक आर्थिक, औद्योगिक, र सांस्कृतिक पर्वका रुपमा स्थापित भइसकेको सुदूरपश्चिम महोत्सव सुरुवातदेखि नै प्रदेशको आर्थिक समृद्धिका प्रमुख मुद्दाहरुमा केन्द्रीत रहदै आएको यहाहरु सबैमा अवगत नै छ ।

हामीले यहाहरु सबैको साथ र समर्थनमा सुरुदेखि नै सुदूरपश्चिम प्रदेशका समृद्धिका आधारहरुलाई मागका रुपमा सरकार समक्ष प्रस्तुत गर्दै आएका छौ । हामीले हरेक महोत्सवमा सरकार समक्ष प्रस्तुत गरेका मागहरुमध्ये अहिलेसम्म केही पुरा भएका छन् । केही मागहरु समयको आवश्यकता अनुसार पुरा हुने क्रममा छन् । तर, अहिले पनि केही मूलभूत मागहरु यथावत रहेका छन् ।

यो भव्य उदघाटन समारोह सन्चालन भइरहेको यो स्थल निजी व्यक्तिको हो । हाम्रो निकै आग्रह र प्रयास हुदाहुदै पनि अहिलेसम्म धनगढीमा एउटा प्रदर्शनी स्थल निर्माण हुन सकेको छैन । यो एउटा सानो उदाहरण मात्रै हो, वास्तवमा सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र सामाजिक न्याय सहितको विकासको लागि जुन युद्धस्तरमा निर्णय र कामहरु हुनु पर्दथ्यो, त्यस्तो हुन नसकेको तितो यथार्थ हामी सामु रहेको छ ।

हामी सबै सधैं सुदूरपश्चिम प्रदेशमा समृद्धिको अपार सम्भावनाको चर्चा गर्छौ । कृषि, पर्यटन, जलस्रोत, जडिबुटी सहित बन पैदावार, खानी आदिको चर्चा हुने गर्दछ । लगानी र विकासको कुरा पटक पटक हुने गर्दछ । तर, लगानी भित्राउन भरपर्दो नीतिगत र व्यवहारिक वातावरण बनाउनेतर्फ कहिल्यै चासो गएको देखिदैन ।

महोत्सव उदघाटन समारोहमा कैलाली उद्योग बाणिज्य संघ मागहरुको फेरिहस्त प्रस्तुत गर्न वा गुनासाहरुको थैली फुकाउन प्रस्तुत भएको होइन । तर, हाम्रो अविकासको अवस्था हाम्रो नियती पक्कै होइन र समानुपातिक र  सन्तुलित विकासको हकदार हामी सुदूरपश्चिमेली जनता पनि हौ र, त्यसैले हामी हरेक मन्चमा आफ्ना न्यायपूर्ण मागहरु प्रस्तुत गर्न बाध्य छौ ।

औद्योगिकरणको विषय होस वा तराई हिमाल दु्रत मार्गको कुरा होस्, अथवा लगानी भित्राउन उचित र समयानुकुल नीतिगत प्रबन्धको विषय होस्, पर्यटन पूर्वाधार निर्माणको लागि सरकारको उचित सहजीकरणको सवाल होस्, सन्तोष गर्ने ठाउँ छैन ।
सुदूरपश्चिम महोत्सवको १९ औं संस्करणको उदघाटन समारोहमार्फत कैलाली उद्योग बाणिज्य संघ २७ लाख बढी सुदूरपश्चिमेली जनताको भावना र आकांक्षालाई सम्मान गर्दै यो प्रदेश र प्रदेशबासीको समृद्धिका लागि ढिलो नगरी ठोस नीतिगत तथा कार्यक्रमिक प्रबन्धहरु गर्न सबै तहका सरकारहरुमा विनम्र आग्रह गर्दछ ।
उपस्थित महानुभावहरु
सुदूरपश्चिम महोत्सव सम्पूर्ण सुदूरपश्चिमेली जनताको आफ्नो महोत्सव हो । तपाईंहरु सबैले जसरी महोत्सवको ब्यग्रतापूर्वक प्रतिक्षा गर्नुहुन्छ, त्यसरी नै यस पटक पनि महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न यहाहरुको अहम् भूमिका रहनेमा हामी ढुक्क छौ । यो अवसरमा कैलाली उद्योग बाणिज्य संघ महोत्सवमा स्टल राख्नु भएका व्यवसायी, उद्यमी लगायत सबैमा आभार व्यक्त गर्दछ । यो महोत्सव अवधिभरी आआफ्नो कलाकौशल प्रस्तुत गर्ने स्थानीय र राष्टिय कलाकारहरुलाई स्वागत गर्दछौ । महोत्सवमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउने स्थानीय प्रशासन तथा सुरक्षा निकायमा आभार व्यक्त गर्दछौ । र, सबैभन्दा बढी यो महोत्सवमा उत्साहका साथ अवलोकनमा आउनु हुने सम्पूर्ण दर्शक महानुभावहरुमा आभार व्यक्त गर्दछौं ।

अन्त्यमा यो महोत्सव उद्घाटन समारोहमा पाल्नु भएका माननीय अर्थमन्त्री रामेश्वर खनाल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमलबहादुर शाह, माननीय मन्त्री ज्यूहरु, माननीय प्रदेश सभा सदस्य ज्यूहरु, सरकारका सचिव ज्यूहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरु, बरिष्ठ उद्योगी व्यवसायी, सन्चारकर्मी तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा स्वागत गर्दै विदा लिन्छु । धन्यवाद

प्रतिक्रिया