ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– १ मा काँग्रेसका को–को छन् आकांक्षी उम्मेदवार ?

मङ्गलबार २३, मङि्सर २०८२ ११:४७

टीकापुर । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आकांक्षी उम्मेदवारको नामावली संकलन गरेको छ । पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकका साथै राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार हुन चाहने व्यक्तिको नामावली संकलन गरेको हो । 

प्रत्यक्षतर्फ चार जनाले उम्मेदवारका लागि आफ्नो नाम दर्ता गराएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारका लागि नाम दर्ता गर्नेमा काँग्रेस केन्द्रीय सदस्य रामजनम चौधरी र डा. रणबहादुर रावल, इश्वरी न्यौपाने, सुदूरपश्चिम प्रदेश समितिका उपसभापति जनकराज चौधरी र बुद्धिसागर चौधरी रहेका छन् । 

त्यस्तै समानुपातिकतर्फ आठ जनाले उम्मेदवार हुन नाम दर्ता गराएका छन् । उम्मेदवारका लागि नाम दर्ता गर्नेमा बिरबहादुर हमाल, धिजराज रेग्मी, उमादेवी बादी, अकबर अली कुरेसी, राजेशकुमार टमट्टा, बिर्ख रावल, केशरी रावल बिष्ट र सुशीला स्वाँर रहेका छन् । 

निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको तयारी गरिरहेको छ । वर्तमान सरकारले जसरी पनि निर्धारित मितिमा निर्वाचन गर्नुपर्ने भन्दै आएको छ । सरकारले राजनीतिक दलहरुसँग निर्वाचनको वातावरणका लागि छलफल तिब्र पारेको छ । 

त्यस्तै राष्ट्रियसभाका लागि दुईजनाले नाम दर्ता गरेका छन् । नाम दर्ता गर्नेमा फकिरसिँह कडायत र नृप खड्का रहेका छन् । निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । 

काँग्रेस केन्द्रीय समितिले आकांक्षी उम्मेदवारको नाम संकलन गर्न निर्देशन दिएअनुसार नामावली संकलन गरिएको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सचिव धनञ्जय रिमालले जानकारी दिए । उनले केन्द्रले १ महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन आएको बताए ।

उनले प्राप्त नामावली उपर छलफलका लागि क्षेत्रीय कार्यसमितिको बैठक बस्ने तयारी भइरहेको बताए । उनले सकेसम्म सहमति गरेरै केन्द्रको निर्देशनअनुसार नाम सिफारिस गरिने नत्र प्राप्त भएका सबै नाम जिल्ला कार्य समितिमा पठाइने जानकारी दिए ।

प्रतिक्रिया