ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि कार्यालय स्थापना, कुन दलको मतभार कति ?

बुधबार १६, पुष २०८२ १२:१४

धनगढी । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कैलालीको धनगढीमा रहेको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशमा एक महिला र एक खुला गरी दुई जना राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला न्यायाधीश भुवनसिंह थापालाई यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ । 

निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

उक्त निर्वाचनका लागि निर्वाचन आयोगले यसअघि नै प्रदेशगत मतभार पनि सार्वजनिक गरिसकेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगर प्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ ।

दलहरु छुट्टाछुट्टै रुपमा निर्वाचनमा सहभागी भए सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक्लै बलियो देखिएको छ । १८ जना प्रदेशसभा सदस्य रहेको कांग्रेससंग स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख ८६ जना छन् । जसअनुसार प्रदेशको कुल ६ हजार १५३ मतभार रहेकोमा कांग्रेसको मात्रै मतभार दुई हजार ५८८ छ । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी छ । उसको मतभार एक हजार ८६९ छ । एमालेको एक हजार पाँच सय ३३ मतभार रहेको छ । 

प्रतिक्रिया