ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट कुन दलले कसलाई बनायो समानुपातिक उम्मेदवार ?

बुधबार १६, पुष २०८२ ०३:२५

धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । मुख्य चार दलले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमबाट ४२ जना जना परेका छन् । सबैभन्दा बढी नेपाली कांग्रेसले ११ जनालाई सूचीमा समावेश गरेको छ । यस्तै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले १०–१० तथा राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका दुई जनालाई बन्दीसूचीमा समावेश गरेको छ । 

नेपाली कांग्रेसले प्रदेशका नौ वटै जिल्लाबाट समानुपातिक उम्मेदवार बनाएको छ भने अन्य दलले भने कतिपय जिल्लालाई समेट्न छुटाएका छन् । नेकपाले बाजुरा, अछाम, डोटी, कैलाली र कञ्चनपुर एमालेले दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली र अछाम तथा रास्वपाले कञ्चनपुरबाट मात्रै समानुपातिक उम्मेदवार बनाएको छ । 

कांग्रेसबाट कैलालीका यज्ञनिधी कोइराला र रिता चौधरी, दार्चुलाका करवीर कार्की, बैतडीका दीपेन्द्र बम, बाजुराका विद्या तिमल्सिना, डोटीका प्रसिस महरा, कञ्चनपुरका कल्पना केसी र तौला राना, अछामका टेकबहादुर बिक, बझाङका सुन्दर स्नेही र डडेल्धुराका हरिना कामी समानुपातिकको बन्दसूचीमा परेका छन् । 

यस्तै सुदूरपश्चिमबाट नेकपा एमालेको समानुपातिक सूचीमा १० जना छन् । एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका समानुपातिक सूचीमा छन् । कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवालको नाम सूचीमा अटाएको चन्दले बताए । 

नेपाली कम्युनिस्ट पार्टीबाट कञ्चनपुर र कैलालीका तीन–तीन, अछामका दुई तथा बाजुरा र डोटीबाट एक–एक जना समानुपातिक सूचीमा समावेश छन् । कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश बिक तथा कञ्चनपुरबाट निराशा चौधरी, बीरबहादुर बुढाथोकी र रामअवतार थारु रानाको नाम समानुपातिक सूचीमा छ । यस्तै, अछामबाट निर्मला साउँद, भीमबहादुर भण्डारी, बाजुराबाट विनिता बिक र डोटीबाट अञ्जिता श्रेष्ठको नाम पनि नेकपाको सूचीमा अटाएको छ । 

वैकल्पिक राजनीतिको वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्राथमितकतामा भने सुदूरपश्चिम प्रदेश परेको देखिन्न । । रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा स्थायी ठेगाना सुदूरपश्चिम उल्लेख गरिएका दुई जना मात्रै छन् । कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल तथा थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ ।

रास्वपाले गरेको प्रि–इलेक्सनमा दलिततर्फ सबैभन्दा धेरै मत ल्याएका सुदूरपश्चिमकै विजय जैरुलाई समेत समानुपातिक सूचीमा राखिएको छैन । आन्तरिक भोटिङमा १३ हजार बढी मत ल्याएका जैरुको घर कञ्चनपुर हो ।

प्रतिक्रिया