धनगढी । कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत रहेको चुरे तटीय क्षेत्र मछली खोलामा व्यापक मात्रामा भइरहेको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ओसारपसारमा त्यहाँस्थित सामूदायिक वन उपभोक्ता समूहको समेत मिलेमतो रहेको पाइएको छ ।
गोदावरी–१२, मछली खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी भइरहेको हो । चुरे फेदीमा रहेको मछली खोला ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न निषेधित क्षेत्र हो । तर, सामूदायकि वन उपभोक्ता समूहकै संलग्नतामा त्यहाँबाट निर्वाध रुपमा ढुुंगा, बालुवा उत्खनन् तथा ओसारपसार भइरहको पाइएको छ ।
आफ्नो क्षेत्रमा रहेका प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नु सामूदायिक वन उपभोक्ता समूहको दायित्व हो । तर ओलानीस्थित ग्वासी समैजी सामूदायिक वन उपभोक्ता समूहले मिलेमतो गर्दै अवैध रुपमा रकम असुलेर मछली खोलाबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी गराइरहेको पाइएको छ । मछली खोला क्षेत्रमा पर्ने ग्वाँसी समैजी वन उपभोक्ता समूहले रसिद काटेरै प्रतिट्याक्टर एक सय ५० रुपैयाँ कर संकलन गर्ने गरेको छ ।
गोदावरी नगरपालिकाले मछली खोला क्षेत्रमा नदीजन्य पदार्थ संकलन तथा निकासीका लागि कुनै ठेक्का सम्झौता गरेको छैन । गोदावरी नगरपालिकाका इन्जिनियर पुर्ण कुुँवरले मछली खोला क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ओसारपसारका लागि वातावरणीय अध्ययनसमेत नभएको बताए । ‘त्यस क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्, तथा संकलन र ओसारपसार गर्ने अनुमति कसैलाई छैन,’ उनले भने ।
चुरे क्षेत्र कान्छो पहाड भएकाले निकै कमजोर मानिन्छ । जानकारहरुका अनुसार चुरेको आफ्नै विशिष्ट महत्व छ । यो क्षेत्र सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भइ तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ ।
चुरे विनास समयमै रोक्न सकिएन भने यस क्षेत्रको पारिस्थितिकीय प्रणाली थप कमजोर बन्न गइ तराई क्षेत्रको जनजीवन थप संकटग्रस्त बन्न सक्ने विज्ञहरु औल्याउँछन् ।
ग्वासी समैजी सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश खड्का सम्पर्कमा आउन चाहेनन् । गोदावरी सव डिभिजन वन कार्यालयका प्रमुख निराजन कडा“ल आफूलाई त्यसबारे जानकारी नभएको दावी गर्छन् । ‘सामूदायिक वन उपभोक्ता समूहले त्यसरी रकम लिएर मछली खोलामा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्नता राखेको भए गैरकानुनी हो,’ उनले भने ।
प्रतिक्रिया