धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा पद रिक्त भएको पाँच महिनापछि उपाध्यक्ष र सदस्यको नियुक्ति भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भागबन्डा गर्दै आयोगमा नियुक्ति गरेको छ । प्रदेशमा सरकारको नेतृत्व गरिरहेको काँग्रेसको भागमा उपाध्यक्ष र एक सदस्य परेको छ भने सत्ता साझेदार एमालेको भागमा एक सदस्य परेको छ ।
मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । उनी काँग्रेस बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख पनि हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गरेकी छिन् । उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेकी हुन् । उनले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पारेकी थिइन् ।
राना आयोगको पाँचौ उपाध्यक्ष भएकी हुन् । यसअघि केशरबहादुर साउद, मोहनदेव बिष्ट, अनुपकुमार उपाध्याय र गणेशबहादुर बिक उपाध्यक्ष भइसकेका छन् । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।
यस्तै बिहीबारको प्रदेश मन्त्रिपरिषद् बैठकले सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् । उनी एमाले सुदूरपश्चिममा पूर्वप्रदेश कमिटी सदस्य पनि हुन् । उपाध्यक्ष राना तथा सदस्यहरु चन्द र भण्डारीको मुख्यमन्त्री कमलबहादुर शाहले आजै सपथ ग्रहण गराएका छन् ।
यस्तो छ आयोगको उद्येश्य
प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको प्रदेशका लागि आवश्यक यथार्थ तथ्याङ्क प्रणालीको विकास गर्नु मुख्य उद्येश्य हो ।
उपयुक्त विकास नीतिहरु तर्जुमा गर्नु, अपेक्षित प्रतिफलमा आधारित योजना तर्जुमा गर्नु, राष्ट्रिय लक्ष्य र दिगो विकासका लक्ष्यसँग योजनाको सम्बन्ध कायम गर्नु र अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउनु प्रदेश नीति तथा योजना आयोगको उद्येश्य हो ।
प्रतिक्रिया