ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शुक्लाफाँटाको नौ सय विघा जमिनमा भारतीयको रजाइँ

शनिबार २०, पुष २०८१ ०७:२८

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब नौ सय विघा भारतीय नागरिकले उपयोग गरिरहेको पाइएको छ । बेल्डाँडी गाउँपालिकासँग जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रको जमिन भारतीयले साढे तीन दशकदेखि खेतीपाती गर्दै आएका छन् । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र निकुञ्जका अधिकारीहरु केही दिनअघि उक्त क्षेत्रको निरीक्षणमा जाँदा निकुञ्जको जमिनमा भारतीयले खेती गरिरहेको देखिएको थियो । भारतीयले खेती गरिरहेको क्षेत्रमा सीमा स्तम्भहरु छैनन् । यसअघि निकुञ्जको जमिन अतिक्रमण गर्ने दुई जना भारतीयले पक्राउ गरेर निकुञ्जले मुद्दासमेत चलाएको थियो ।

उक्त क्षेत्रमा सीमा स्तम्भ नम्बर ७८८ तथा सहायक स्तम्भ ७८८/१, ७८८/२, ७८८/३ र ७८७/३ फिल्डमा नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा गस्तीमा समेत जान सकिने अवस्था नभएका कारण नियमित रखेदेख हुन सकेको छैन । 

सीमा स्तम्भहरु नहुँदा निकुञ्जको जमिनमा भारतीयले खेती गरिरहेको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । त्यहाँ मुख्य र सहायक गरी पाँच वटा सीमा स्तम्भहरु नरहेको उनले बताए । ‘सीमा स्तम्भ नभएको क्षेत्रको जमिन ३६ वर्षदेखि भारतीयले उपभोग गर्दै आएका रहेछन्’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘जंगल र नदी भएकाले त्यहाँ पुग्न पनि निकै कठीन रहेछ ।’

नेपाल–भारतबीच जोर नम्बरका सीमा स्तम्भर भारतले र बिजोर नेपालले बनाउने सहमति भएको थियो । तर शुक्लाफाँटाको उक्त क्षेत्रमा भारतले मुख्यसहित चार र नेपालले एउटा सहायक सीमा स्तम्भ बनाएको छैन । त्यहाँ नेपालले सीमा स्तम्भ नम्बर ७८७, ७८७/१ र ७८७/२ निर्माण गरेको छ ।  ७८७/३ सीमा स्तम्भ नेपालले बनाउन बाँकी देखिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन मनोज शाहले करिब नौ सय विघा जमिन भारतले भोगचलन गरिरहेको बताए । उनले अतिक्रमण भएको क्षेत्र हटाउन प्रशासनमार्फत सरकारलाई खबर गरिएको बताए । अतिक्रमित क्षेत्रसम्म पुग्न नेपालतर्फबाट बाटो छैन भने निकुञ्ज भित्रका थुप्रै नदीनालाहरूमाथि पुल नभएका कारण सवारी साधन प्रयोग गर्न सकिँदैन । सीमा स्तम्भ नहुँदा नेपाल–भारतको क्षेत्र नछुटिनु तथा त्यहाँ पुग्न कठीन भएकाले पनि भारतीयले जमिन उपभोग गरिरहेका हुन् ।

‘निकुञ्जको जमिनमा भारतीय किसानले हिउँदमा गहुँ लगाउने रहेछन् । बर्खामा भने पानी जम्ने भएकाले जमिन बाँझै छोड्ने गरिएको रहेछ’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘सीमाना अतिक्रमण भएको होइन, सीमा स्तम्भ नहुँदा सीमा क्षेत्र कता हो भन्ने थाहा नभएर भारतीले नेपाली भूमि उपभोग गरिरहेका रहेछन् । उनीहरुले सीमाना छुट्टिएर नेपालतिर परे खेती गर्न छोड्छौँ भनेका छन् ।’ उनले सीमा स्तम्भ निर्माणका लागि पहल भइरहेको बताए ।  

बेलडाँडी गाँउपालिका–५, का वडाध्यक्ष इन्द्रबहादुर खडाकाले भारतीयले उपभोग गरिरहेको नेपाली भूमि तत्काल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । जिल्लाको दक्षिणी क्षेत्रमा भारतीयले ठाउँठाउँमा नेपाली भूमि अनिक्रमण गर्नुका साथै नेपालीमाथि थिचोमिचो गर्ने गरेका उनले बताए । ‘सरकारले कुटनीतिक पहल गरेर नेपाली भूमि फिर्ता ल्याउनुपर्छ’ उनले भने । 

कञ्चनपुरको प्यारातालदेखि ब्रह्मदेव र दोधारा–चाँदनीसम्म ठाउँठाउँमा नेपाली भूमि अतिक्रमणमा परेको छ । २०७३ सालमा कञ्चनपुरकै पुनर्वासको आनन्दबजारमा कल्भर्ट निर्माणका क्रममा भारतीयसँग विवाद हुँदा गोविन्द गौतमको हत्या भएको थियो । कञ्चनपुरको दोधारा–चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वासका विभिन्न स्थानमा नेपाली भूमिमा नेपाली नागरिकले खेतीपाती गर्न भारतीयले अवरोध गर्दै आएका छन् । 

प्रतिक्रिया