ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
एकैदिन १३ जना पक्राउ

सुदूरपश्चिममा फैलिँदै लागूऔषधको जालो

शनिबार २०, पुष २०८१ ११:५९

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषधको कारोबार बढ्दै गएको छ । प्रदेशमा पछिल्लो समय लागुऔषधको कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दो रूपमा बढेको हो । प्रयोगकर्ता र कारोबारी पक्राउ पर्ने क्रम बढे पनि लागूऔषधको जालो तोड्न भने प्रहरी असफल देखिन्छ । 

यस्तै, सुदूरपश्चिममा लागूऔषधसहित एकैदिन १३ जना पक्राउ परेका छन् । शुक्रबार कैलालीमा १०, डडेल्धुरामा दुई र कञ्चनपुरमा एक जना पक्राउ परेका हुन् । कञ्चनपुरमा पनि लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा सोही ठाउँका ३१ वर्षीय कैलाश लुहार पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ०.५४ ग्राम लागूऔषध बरामद गरेको छ । उता डडेल्धुरामा पनि लागूऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–५ बागबजारस्थित बसपार्कबाट नवदुर्गा गाउँपालिका– २ बस्ने २६ वर्षीय खेमराज भट्ट र शिखर नगरपालिकाझ८ डोटी बस्ने २६ वर्षीय साजन बलायर पक्राउ परेका हुन् । भट्टको साथबाट ०.२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ भने बलायरको साथबाट प्रिगासप्ट नामक २५ ट्याब्लेट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए ।

यस्तै, कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले ‘कर्डन एण्ड स्विप अप्रसेन’ गरी १० जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालयबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३४ वर्षीय मोहन राना ६ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको हेण्डलभित्र लुकाएर राखेको अवस्थामा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, धनगढी–२ त्रिनगर भन्सार चोकबाट सु.प.प्र.०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा धनगढी–१३ बस्ने २९ वर्षका बाहाली राना र स्कुटर पछाडि सवार धनगढी–६ बस्ने ३१ वर्षको दीपक रानालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट पाँच सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । धनगढी–१० घुइयाघाटबाट धनगढी–७ बस्ने २५ वर्षीय प्राभुपन राना र अमन रानालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट आठ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी–१३ झोलुङ्गेपुल नजिकबाट कृष्णपुर–९ बस्ने २४ वर्षीय प्रदीप राना र ३० वर्षीय अनिल रानालाई आठ सय ९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

कैलालीको टीकापुर नगरपालिका–२ आँखा अस्पताल नजिक सडकखण्डबाट सोही ठाउँ बस्ने २३ वर्षको विक्रम बुढा र १९ वर्षको मिलन टमटालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो । यस्तै, धनगढी–३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका–८ घर भई केदार टोलमा बस्दै आएका ४० वर्षीय रोशन महरा पक्राउ परेका छन् । उनको साथबाट ६९ ग्राम ३४० मिलिग्राम चरेश र १० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको छ ।

प्रतिक्रिया