धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सद्भावना दूत (स्वास्थ्य दूत)मा दीपकप्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । एक सय सात पटक रक्तदान गरिसकेका कैलालीको धनगढीका उपाध्यायलाई दूतमा नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपाध्यायलाई स्वास्थ्य सम्बन्धी जनचेतना अभियान र रक्तदान कार्यक्रममा नेतृत्वदायी भूमीका निर्वाह गरेको भन्दै दूतमा नियुक्त गरिएको हो ।
यस्तै उपाध्यायलाई आइतबार सम्मान पनि गरिएको छ । आइतबार सबै सरकारी अस्पतालमा निशुल्क रगत सेवाको सुरुवात कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई सम्मानपत्र हस्तान्तरण गरे ।
को हुन् उपाध्याय ?
उपाध्याय पेशाले पत्रकार हुन् । पत्रकारसंगै उनलाई कीर्तिमानी रक्तदाता भनेर चिन्ने गरिन्छ सुदूरपश्चिममा । झण्डै साढे दुई दशकअगाडि बिरामी आफन्तलाई भेट्न उनी सेती प्रादेशिक अस्पतालको आकस्मिक वार्डमा पुगेका थिए ।
दुर्घटनामा घाइते भएका रिक्सा चालकलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । घाइतको साथमा आफन्त कोही थिएनन् । ‘उनलाई ए पोजेटिभ रगत चाहिएको रहेछ,’ दीपक भन्छन्, ‘पहिलोपटक मैले उनकै लागि रक्तदान गरे । त्यसपछि तीन महिनाको अन्तरमा नियमित रक्तदान गर्दै आएको छु ।’ दीपक नियमित रक्तदाता हुनुमा दाई विनोदलाई श्रेय दिन्छन् । उनका अनुसार विनोद पनि नियमित रक्तदाता हुन् ।
एक सय सात पल्टमा उनले दान गरेको रगतको परिमाण साढे ५३ लिटर हुन्छ । एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले तीन सय २१ जनाको जीवन बचाउन सहयोग पुगेको छ ।
प्रतिक्रिया