धनगढी । सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलित भएका छन् । सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीको अध्यक्षतामा बसेको बैठकले वृत्ति विकासको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशसभाका लेखा अधिकृत बलदेव कापडीका अनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार प्रमुख सचिव कमलप्रसाद पोखरेल, आर्थिक मामिलामन्त्री बहादुुरसिंह थापा र अर्थ सचिव झलकराम अधिकारीलाई ध्यानकर्षण पत्र बुझाइएको छ ।
‘२२ देखि २४ पुससम्म प्रदेशका ९ वटै जिल्लाका प्रदेश लेखा कार्यालयमा सबै जम्मा भएर छलफल गर्ने, २५ पुसदेखि पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने कार्यक्रम छ,’ उनले भने, ‘आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने निर्णयसमेत गरिएको छ ।’
उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले लेखा तथा राजस्व समूहको वृत्ति विकास रोकिने गरी ऐन र नियमावली जारी गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन घोषणा गर्नुपरेको हो । उक्त ऐनमा प्रदेशमा समायोजन भएका जेष्ठ कर्मचारीहरुको बढुवा रोकेर कनिष्ठ कर्मचारीको मात्रै बढुवा गर्ने व्यवस्था राखिएको लेखा समूहका कर्मचारीको आरोप छ ।
प्रदेशमा लेखा समूहका एक सय ३८ जना कर्मचारी समायोजन भएर आएका थिए । तर, प्रदेश निजामती सेवा ऐनले वृत्ति विकासको ढोका बन्द गरेका कारण बढुवा नभएरै घर फर्किनुपर्ने बाध्यता रहेको लेखा समूहका कर्मचारीको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशमा लेखा समूहको उपसचिव नवौँ तहमा एक जनाको मात्रै दरबन्दी छ । लेखा अधिकृत ३० र सहायकस्तरमा एक सय ६० जना गरी एक सय ९१ जनाको दरबन्दी रहेको छ ।
प्रतिक्रिया