कैलाली । बझाङमा बाटोमै जन्म दिएको शिशुसंगै सुत्केरीको मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना (सविता) बोहराको मृत्यु भएको हो ।
बोहरालाई सुत्केरी हुनका लागि २४ माघको मिति दिइएको थियो । त्यो समय आउन एक महिना तीन दिन बाँकी थियो । खिना आइतबारदेखि नै परिवारका सदस्यलाई कम्मर दुख्यो भन्दै थिइन् । आइतबार रातिदेखि व्यथा लागेपछि सोमबार विहान ४ बजे घरमा रहेका सासु, ससुरा, नन्द, फुपु र गाउँकै महिलाहरुले स्वास्थ्य चौकी लैजान हिँडाएका थिए । झण्डै छ किलोमिटर टाढा थियो, रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा ।
विहान ५ बजे खिनाले पहिलो बच्चालाई बाटोमै जन्म दिएकी थिइन् । नजिकै वडा सदस्य पदमप्रशाद भट्टको घर थियो । ‘मेरो घरमा खिनाका नन्द र फुपु हसिया माग्नका लागि आएका थिए,’ वडा सदस्य भट्ट भन्छन्, ‘हाम्रोमा घरबाहिर शिशु कतै लैजाने क्रममा हतियार बोक्ने चलन छ । त्यसैले हसिया माग्न खिनाका आफन्त आएका थिए । बाटोमै शिशु जन्मिएपछि मैले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमलकुमार मल्ललाई जानकारी गराएको थिए ।’
मल्लका अनुसार वडा सदस्यले जानकारी दिएपछि उनी एम्बुलेन्स र नर्सिङ कर्मचारीसहित त्यहाँ पुगेका थिए । ‘हामीले त्यहाँ पुगेर शिशु र आमालाई चेकजाँच गरेका थियौं,’ मल्लले भने, ‘शिशु र आमाको मृत्यु भइसकेको थियो ।’ मल्लका अनुसार डुडिल गाउँसम्मै एम्बुलेन्स जाने सडक बनेको छ । ‘उहाँहरुले एम्बुलेन्स समयमै बोलाएर स्वास्थ्य केन्द्र पुगाएको भए यस्तो घटना हुने थिएन,’ उनले भने, ‘हामीले पनि समयमै जानकारी पाएको भए आमालाई त जोगाउन सकिन्थ्यो। अत्यधिक रक्तश्रावका कारण आमाको पनि मृत्यु भयो ।’
वडा सदस्य भट्टका अनुसार खिनाका श्रीमान उमेश बोहरा रोजगारीका लागि भारतमा छन् । ‘खिनाका ससुरा दृष्टिविहीन हुन् भने सासु पनि अपाङगता भएकी हुन्,’ उनले भने, ‘स्वास्थ्य चौकी पनि नजिक नहुँदा र जोखिम आकलन गर्न नसक्दा दुखद घटना भयो ।’
प्रतिक्रिया