ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भूकम्प जाँदा एक जनाले छतबाट हामफाले, बारामा ११ विद्यार्थी बेहोस

मङ्गलबार २३, पुष २०८१ १२:४१

काठमाडौँ । काठमाडौँको स्युचाटारमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन । 

गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा क्षति पुगेको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको छ ।   

त्यस्तै, बाराको कलैया उपमहानगरपालिका-१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयले जनाएको छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् । 

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । 

प्रतिक्रिया