काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल सरकारसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् । बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् उनले हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा. राणाले आग्रह गरेकी छन् ।
सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराए ।
सन् २०२३ को अक्टोबरमा इजरायलमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् ।
प्रतिक्रिया