काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार सकिएको छ ।
बुधवारै जवाफी बहस सुरु भएको थियो । बुधवार जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिएका थिए । बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । अदालतका स्रेष्तेदार राजन खनालले बिहीबार बाँकी जवाफी बहस हुने बताए । उनले सम्भवतः आजै नभए शुक्रवारसम्म इजलासले आदेश गर्न सक्ने बताए ।
थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका थुनछेक बहस जारी छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मिना गुरुङ, आरती गुरुङ छन् ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
प्रतिक्रिया