दार्चुला । भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ । मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई ललाईफकाई पाँच दिनसम्म नियन्त्रणमा राखेर बलात्कार गरेको बताइएको छ ।
प्रहरीले ०७७ भदौमा बलात्कार आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए । बिहीबार बलात्कारको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई २० वर्षको सजाय र ५० हजार जरिबानाको फैसला सुनाएको हो ।
१६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन् । भारतमा सन् २०१२ मा ल्याइएको पोक्सो एक्ट (लैंगिक अपराधबाट बालबालिकाको संरक्षण अधिनियम–२०१२) अनुसार छुट्टै न्यायालयले १६ वर्षमुनिका बालिकामाथि हुने अपराधसम्बन्धी मुद्दा हेर्ने गर्छ ।
प्रतिक्रिया