मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा मेरुदण्डनजिकै रहेको जनाएको छ । खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबिच मुठभेड भएपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।
बलिउड अभिनेता खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।'
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, 'घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धान भइरहेकोले घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त भइसकेको छैन । अनुसन्धानपछि सबै खुल्नेछ ।'
लीलावती अस्पतालका चिफ अपरेटिङ अफिसर (सीओओ) डा. निरज उत्तमानीका अनुसार खानलाई बिहीबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो । रासस/एएएनआई
प्रतिक्रिया