ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

किवीका बिरुवा बेचेर मनग्य आम्दानी लिइरहेका डडेल्धुराका लक्ष्मण

आइतबार ०६, माघ २०८१ ११:१९

डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् । 

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ ।  

उनले आलिताल–२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गरेका छन् । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताए । 

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट एक सय ५० रुपैयाँका दरले बिक्री गरिरहेको उनले जानकारी दिए ।

डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेको छ । किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए । बेर्ना बिक्री गरेरै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेको थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट पाँच सय रुपैयाँका दरले किनेर लगाएको बताए । 

अहिले डडेल्धुरामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन् । सुरुमा एकपटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने, 'किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ त्यसतर्फ किसान बढी आकर्षित भएका छन् ।' रासस

प्रतिक्रिया