ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महिला टी-२०आई शृंखला : नेपाल उपाधि होडबाट बाहिर

मङ्गलबार २२, माघ २०८१ ०४:०४

काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । आज भएको खेलमा थाइल्यान्डले नेपाललाई ५ रनले हरायो । योसँगै नेपाल उपाधि होडबाट समेत बाहिरिएको छ । 

थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो । नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्यान्डकी थिपाचा पुथावोङ्गले ४ विकेट लिइन् । 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो । थाइल्यान्डका चानिदा सुथिरुआङ्गले २७, थिपाचा पुथावोङ्गले २५ रन बनाए । थाइल्यान्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे । नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् । 

नेपाल यसअघि नेदरल्यान्ड्ससँग दुई पटक र थाइल्यान्डसँग एक पटक पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो । अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन ।

 
 

प्रतिक्रिया