जीवन कैला, बाजुरा । गाउँमा सिँचाइ सुविधा पुगेसंगै ग्रामिण क्षेत्रका महिलाले कृषि उत्पादनमा जोड दिन थालेका छन् । सिँचाइ नहुँदा बाँझो रहेको जमिन सिँचाइ सुविधा पुगेपछि ग्रामिण क्षेत्रका महिलाले कृषि उत्पादनमा जोड दिन थालेका हुन् ।
दुर्गम बाजुराका महिला कृषि उत्पादनमा जोडिएका हुन् । आकासे पानीको भरमा खेती हुँदै आएको ग्रामिण भेगको जमिनमा लिफ्ट सिँचाइमार्फत पानी पुगेपछि समय अनुकुल खेती गर्न सजिलो भएको बुढीगंगा नगरपालिका– ४ की दुर्गाकुमारी खत्रिले बताइन् । पानीको सुविधाले दैनिकीमा सहज भएसंगै गाउँका महिला तरकारी व्यवसायमा सक्रिय भएका छन् ।
कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा परियोजना र पालिकाको साझेदारीमा त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाका दुर्गम गाउँमा लिफ्ट सिँचाइ आयोजना निमार्ण भएको छ । परियोजनाको ६५ लाख ८६ हजार ३१८ अर्थात ९० प्रतिशत र नगरपालिकाको सात लाख ३१ हजार ८१३ रुपैयाँ अर्थात् १० प्रतिशत गरी ७३ लाख १८ हजार १३१ रुपैयाँको लागतमा बुढीगंगा– ४ मा बानेगाउँ र परियोजनाको ४९ लाख ३७ हजार ८५८ अर्थात ९० प्रतिशतर नगरपालिकाको ५ लाख ४८ हजार ६५० रुपैयाँ अर्थात् १० प्रतिशत गरि जम्मा ५४ लाख ८८ हजार ५०८ रुपैयाँको लगातमा त्रिवेणी–८ मा झालगाउँ कालापानी लिफ्ट सिँचाइ आयोजना निमार्ण भएका छन् ।
लिफ्ट आयोजना निमार्ण भएपछि दुर्गम ठाउँका नागरिकलाई सहज भएको पालिकाले बताएका छन् । ‘यसअघि गाउँमा खानेपानीको समस्या थियो, व्यवसाय गर्न त परको कुरो हो हामीलाई खानेपानीकै जोहो गर्न कठिनाई हुने गरेको थियो,’ स्थानीय बासिन्दा खत्रीले भनिने, ‘तर अहिले लिफ्ट सिँचाइको पानीले बारीमा तरकारी फलाउन सहज भएको छ ।’ गाउँमा लिफ्ट सिँचाइ पुगेसंगै तरकारी व्यवसायबाट आम्दानीसमेत हुन थालेको बुढीगगां नगरपालिका वडा नम्बर ४ की स्थानीय तथा हरियाली कृषक समूहकी अध्यक्ष सकुन्तलादेवी कटुवालले बताइन् ।
गाउँमा लागू भएको रेरास परियोजनाले सिँचाइ सुविधा, तालिम, बीउ बिजन, कृषि सामाग्री, जलवायु अनुकुन प्रविधि र क्षमता विकासका तालिमहरु दिएपछि गाउँका महिला तरकारी व्यवसायमा रमाइरहेका त्रिवेणी नगरपालिका–८ की सिता थापाले बताइन् । उनका अनुसार बारीमा फलेको मौसमी तथा बेमौसमी तरकारी बेचेर मासिक २५ हजारसम्म आम्दानी गर्ने गरिएको छ । ‘व्यवसाय थालेदेखि तरकारी किनेर खाने परम्पराको अन्त्य भएको छ,’ किसान राधिका गिरीले भनिन्, ‘केही भएन भने पनि मासिक २५ हजारदेखि वार्षिक दुई लाखसम्मको तरकारी बिक्री गरेर आम्दानी हुने गरेको छ ।’
बारीमा विभिन्न किसिमको साग, जुकेनी र टमाटर हुर्किदै गएको गिरीले बताइन् । सिजनमा काउली, बन्दा, गोलभेडा, भिन्टी, टमाटर र आलु लगायतका तरकारी फलाउने गरिएको छ । बारीमा फलाउने तरकारी बिकाउनका लागि बजारको समस्या भएपछि थोरैथोरै गरेर खपत गर्ने गरिएको छ । आफूले विद्यालयमा दिवाखाजाका लागि तरकारी बेच्ने गरेको किसान गिरिले बताइन् ।
खानेपानीको समस्या रहेको बानेगाउँ तरकारी व्यवसायबाट हरियाली हुँदै गएको छ । गाउँदेखि झण्डै डेढ किलोमिटरको दूरीा रहेको बार्जुगाड खोलाको पानी लिफ्टमार्फत बानेगाउँमा झारिएपछि एक सय १० परिवारलाई दैनिकीमा सहज भएको लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष कलक कटुवालले बताए । घरघरमा कृषि मिटर जडान गरेर पानी प्रयोग गर्ने गरिएको छ । हालका लागि बानेगाउँमा ८६ मिटर जडान गर्ने योजना रहेकामा ४६ जोडिएको र ४० मिटर जडान प्रक्रियामा छन् । स्थानीयले पानी प्रयोग गरेबापत एक युनिटको ४० रुपैयाँसम्म महसुल तिर्ने गरेका छन् ।
बानेगाउँमा अहिले पनि खानेपानीको सुविधा छैन । एक सय १० परिवार रहेको गाउँका सबै नागरिकका लागि खानबाहेक अन्य कार्यका लागि लिफ्टको पानी प्रयोग हुने गरेको छ । खानेपानी पर्याप्त नभएको ठाउँमा सुख्खा जमिनमा लिफ्टको पानीले तरकारी बारी हरियाली देखिनु नौलो भएको स्थानीय रेबतिदेवी सुनारले बताइन् । गाउँभन्दा झन्डै तीन किलोमिटर टाढाको बेडुघाती खानेपानी प्रयोग गर्ने गरिए पनि बेलाबेला बिग्रिने र पाइप काट्ने समस्याले नियमीत हुन नसकेको उनको भनाई छ ।
परियोजनाले किसानलाई विभिन्न तालिम प्रदान गर्दै बोटविरुवा लगाउने तरिकादेखि स्याहार्नेसम्म ज्ञान प्रदान गर्दा किसानलाई सहज भएको छ । रेरास परियोजनाले कृषि क्षेत्रमा जलवायु उत्थानशिल प्रविधिका विभिन्न सहयोग प्रदान गर्ने गरेको छ । कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा रेरास परियोजना नर्वे सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपीको अर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । सन् २०२३ देखि सुरुवात भएको कार्यक्रम २०२७ सम्म संचालन हुनेछ । कार्यक्रमले कृषिमा आत्मनिर्भर बनाई पोषणमा सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रम बाजुराका नौ वटा स्थानीय तहमध्ये त्रिवेणी। बुढीगंगा र बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिका गरी छ वटा पालिकामा सञ्चालित छ ।
परियोजनाले नविकरणीय उर्जा र कृषि क्षेत्रलाई एकीकृत गरी खाद्य उत्पादनको वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा सुधार गर्ने लक्ष्य राखेको छ । उक्त परियोजनाले पश्चिम नेपालका दुर्गम बस्तीका केन्द्रीय प्रशारण लाइनसंग आवद्ध नभएका लघुजलविद्युत आयोजनाको पुनस्र्थापना गर्दै कृषि आधुनिकीकरण र जलवायु उत्थानशील कृषि अभ्यासमा सहयोग गर्ने गरेको छ ।
जलवायू उत्थानशिल कार्यक्रमअन्र्तगत रेसास परियोजनाले गाउँमा कृषक समूह गठन गरी जलवायू उत्थानशिल कृषि प्रणालीका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषकलाई सिजनल अनुसारको बीउ विजन, झोल मल, थोपा सिँचाइ प्रविधि हितको प्लाष्टिक घर, गड्यौला मल, पानी संकलनका लागि पोखरी, कृषि औजार, नविकरणीय उर्जामार्फत सञ्चालन हुने थ्रेसर, कुटानी पीसानी मिल, मकै छोडाउने मेसिन, गहुँ चुटने मेसिन लगायतका कृषि उपकरण तथा औजार वितरण गर्ने गरेको छ । यसले महिलाको कार्य बोझमा समेत कमी आउने आयोजनाले जनाएको छ ।
सयुक्त मिसन भ्रमण टोलीले परियोजना सञ्चालित रहेका पालिकामा भइरहेका कार्यको अनुगमन समेत गरेको छ । रेरासको सयुक्त मिसन भ्रमणमा शाही नर्वेजियन दूतावासबाट क्रिष्टिना स्टोर्हल्ट, मिनिस्टर कन्सुलर, डेपुटी हेड अफ मिसन र श्री इएनआर टेलनेस, कन्सुलर, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीबाट प्रज्ञाजन यलम्बर राई, पोर्टफोलियो म्यानेजर शिव श्रेष्ठ, रेरासका प्रोजेक्ट म्यानेजर लगायत टोलीले फिल्ड अनुगमनका साथै रेरासका विभिन्न क्रियाकलापको स्थलगत अवलोकन र कृषक समुदायबीच छलफल गरेको बाजुराका लागि रेरास क्लष्टर कोर्डिनेटर विशाल पौडेलले जानकारी दिए । सयुक्त अनुगमन चैत १८ देखि २१ गतेसम्म भएको थियो ।
छलफलका क्रममा कार्यस्थल पुगेको टोलीले स्थानीय पालिकाकाका जनप्रतिनिधि र स्थानीयसंग भेटघाट गर्दै रेरास परियोजनाका क्रियाकलाप, परियोजनाका सकारात्मक प्रभाव, कृषकका जनजीवनमा परेका समस्या, अभाव, चुनौती र आगामी दिनमा गुर्नपर्ने कार्यका बारेमा सुझाव संकलन गरिएको छ । बुढीगंगा नगरपालिकाका प्रमुख राममबहादुर बानिँयाले परियोजनाले जिल्लामा तरकारी आयात घटाउन मद्दत गरेको र स्थानीय उत्पादनसंगै रोजगारीका अवसर प्राप्त भएको बताए । त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले सिँचाइ अभावका कारण बर्सेनि जमिन बाँझो रहने अवस्थामा साझेदार निकायसंगको लगानीमा स्थानीयस्तरमा उत्पादन भइरहेको बताए । बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहरा र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले परियोजनाले पुगाएको सहयोग निकै महत्वपूर्ण भएको बताए ।
प्रतिक्रिया