धनगढी । स्वास्थ्य संस्था पुगाउन नसक्दा बाटोमै गर्भवतीको मृत्यु, अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु अनि उपचार नपाएरै गयो बिरामीको ज्यान । सुदूरपश्चिम र कर्णालीका दुर्गम बस्तीका बासिन्दाका लागि आम जस्तै हुन्थे यी र यस्ता घटनाका समाचार शीर्षकहरु । अझ, बाजुराको विकटमा पर्ने बुढीनन्दा क्षेत्र पनि यस्तै समस्याग्रस्त थियो ।
तर, अहिले अवस्था फेरिएको छ । अर्थात् भनौ, बाजुराको कोल्टी अस्पतालले त्यहाँका बासिन्दाले स्वास्थ्य सेवा पाउने सुविधाको अवस्था फेरिदिएको छ । बुढीनन्दा नगरपालिकाले कोल्टी अस्पतालमा आधारभूतदेखि शल्यक्रियासम्मका उपचारात्मक सेवाहरु उपलब्ध हुने प्रबन्ध मिलाएको छ । त्यहीँ भएर बुढीनन्दाका लागि मात्रै नभएर बाजुराका उत्तरपूर्वी क्षेत्रसंगै कर्णाली प्रदेशको हुम्ला, मुगु र कालिकोटका बासिन्दाका लागि पनि कोल्टी अस्पताल ‘मन्दिर’ सरह स्वास्थ्य सेवाका लागि भरोसाको केन्द्र बनेको छ ।
‘मान्छे बाच्नु, बचाउनु पहिलो कर्तब्य हो, त्यसपछि अन्य विकास क्रमसः हुँदै गर्छ,’ बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले भने, ‘त्यही अवधारणाअनुसार नगरपालिकाबाट मासिक लाखौं रुपैयाँ पारिश्रमिक दिएर विशेषज्ञ चिकित्सकको व्यवस्था गरेका छौं । अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनका लागि एनेस्थेसियाको पनि व्यवस्था गरेका छौं ।’
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहरा
दुर्गमको अस्पताल भए पनि विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेर कोल्टी अस्पताल अहिले अघोषित रेफरल अस्पताल जस्तै बनेको छ । बुढीनन्दा नगरपालिका मातहत रहेको कोल्टी अस्पताल अघिल्लो वर्षसम्म प्राथमिक स्वास्थ्य केन्द्र थियो । अहिले आधारभुत तहको अस्पतालका रुपमा स्तरोन्नति गरिएको छ ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख बोहराका अनुसार कोल्टी अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू छ । ‘हामीले प्राथमिक स्वास्थ्य केन्द्र हुँदादेखि नै शल्यक्रियाको सुविधा उपलब्ध गराएका थियौं,’ नगर प्रमुख बोहराले भने, ‘अहिले त आँखा उपचार सेवा र दन्त उपचार सेवा पनि विस्तार गरेका छौं ।’
नगरप्रमुख बोहराका अनुसार कोल्टी अस्पतालको आफ्नै फार्मेसी छ भने एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर एक महिनाभित्रै सञ्चालनको तयारी छ ।
नगरपालिकाकै पहलमा कोल्टी अस्पतालमा एक समय चार जना चिकित्सक थिए । एमडीजीपी डा. रञ्जित शाह, गाइनोकोलोजिस्ट डा. सोनम गुरुङ र अन्य दुई जना मेडिकल अधिकृत कार्यरत थिए । अहिले अस्पताल प्रमुखसमेत रहेका नवौं तहका डा. साह नेतृत्वको टोलीले अस्पताल हाकिरहेको छ । डा. साहका अनुसार १० शैøयाको कोल्टी अस्पताल अहिले रेफरल अस्पताल जस्तै भएको छ । ‘हाम्रोमा प्राथमिक स्वास्थ्य केन्द्र हुँदादेखि नै विज्ञेषज्ञ सेवा प्रदान हुँदै आएको थियो,’ डा. साहले भने, ‘अहिले आधारभुत तहको अस्पतालमा स्तरोन्नति भएपछि आँखा उपचार सेवा र दन्त सेवा पनि विस्तार गरेका छौं ।’
अस्पताल प्रमुख डा. साहका अनुसार अस्पतालको ओपिडीमा विभागमा मात्रै दैनिक ८० देखि एक सय बिरामीसम्म पुग्ने गरेका छन् । आकस्मिक कक्षमा पनि दैनिक २० देखि ४० जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् । उनका अनुसार कोल्टी अस्पतालमा शल्यक्रियासमेतको व्यवस्था भएपछि प्रसुति सेवा प्रभावकारी बनेको छ । ‘औषतमा माषिक २२ जना महिलाले अस्पतालबाट प्रसुति सेवा पाइरहेका छन्,’ डाक्टर शाहले भने, ‘जटिल समस्या भएका गर्भवतीले शल्यक्रिया सेवामार्फत पनि बच्चा जन्माएका छन् ।’ शल्यक्रियाका लागि अस्पतालमा बीएसी एनेस्थेसिया टेक्निसियन लालबाबु यादव कार्यरत छन् ।
अस्पतालमा आकस्मिक सेवा र ओपिडीसंगै, प्रसुति सेवा, आँखा रोग सेवा, फार्मेसी सेवा, एम्बुलेन्स सेवा, भिडियो एक्सरे सेवा र दन्तरोग लगायतका सेवा सञ्चालन गरिएको छ । नगरपालिकाले लक्षित वर्गा छुट्याएर उपचारमा २० र औषधिमा १० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख बोहराका अनुसार सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि कोल्टी अस्पतालमा थप सेवा विस्तारको कार्य भइरहेको छ । सोहीअनुसार अस्पताललाई २५ शय्यामा विस्तारको योजना बुढीनन्दा नगरपालिकाको छ । छिमेकी जिल्ला र चार पालिकाका जनप्रतिनिधिलाई राखेर २५ शय्याको अस्पताल निर्माणको सम्झौता पनि भइसकेको बुढीनन्दा नगरपालिकाले जनाएको छ । कोल्टी बाजुराको सदरमुकाम मार्तडी पछिको ठूलो व्यापारी केन्द्र हो । त्यहाँ विमानस्थल पनि छ ।
प्रतिक्रिया